“म रोनाल्डोलाई एकदम मिस गर्छु” – मार्सेलो

रियल मड्रिडले बुधबार राति ला लिगाअन्तर्गत भएको खेलमा सेभिल्लासँग अप्रत्यासित रूपमा पराजय भोग्यो । उपाधि दाबेदार टोली मानिएको रियललाई सेभिल्लाले आफ्नो घरमा सनसनीपूर्ण रूपमा ३–० ले हरायो ।

उक्त हारपछि रियलका लेफ्ट ब्याक मार्सेलोले आफ्ना पुराना टिममेट क्रिस्टियानो रोनाल्डोलाई सम्झिएका छन् । रोनाल्डो यसै सजनको सुरुमा ९ वर्षपछि रियल छाडेर इटालियन युभेन्टसमा अनुबन्ध भएका थिए ।

टोली ३–० ले पराजित भएपछि निकै भावुक बनेका मोर्सेलोलाई मिडियाले ‘यतिबेला टोलीले रोनाल्डोलाई कतिको याद गरिरहेको छ’ भने सोधेका थिए । त्यसक्रममा मार्सेलोले आफूलगायत अन्य सदस्यले पनि उनलाई मिस गर्ने गरेको बताए ।

‘अवश्य पनि, उनी हाम्रो टोलीका मुख्य सदस्य थिए । तर, आज उनी हामीसँग छैनन्,’ मार्सेलोले भने, ‘जब–जब हामी कठिन अवस्थामा हुन्छौं, उनलाई सम्झिन्छौं ।’

तर, मार्सेलोले रोनाल्डो अब रियलका लागि इतिहास भएको पनि बताए । ‘तर, उनी अब अर्कै क्लबका खेलाडी हुन्, हामीसँग उनको सम्झना मात्रै छ ।’

रियलमा छँदा रोनाल्डो र मार्सेलो एकदमै मिलनसार साथीमा पर्थे । मैदानभित्र र बाहिर पनि यी खेलाडीको लय उत्कृष्ट रूपमा मिलेको देखिन्थ्यो ।