“म युभेन्टस जान चाहन्छु”- मार्सेलो

जब क्रिस्टियानो रोनाल्डो गत सिजनको सुरुमै रियल मड्रिड छाडेर इटालियन युभेन्टसमा अनुबन्ध भए, त्यत्तिबेलै मार्सेलोले पनि रियल छाड्न सक्ने चर्चा भएको थियो । ९ वर्षपछि रोनाल्डो रियल छाडेर युभेन्टस जाँदा सरुवा बजारलाई ‘सरप्राइज’ मिलेको थियो ।

रोनाल्डो हिँडेसँगै मार्सेलोले पनि क्लब छाड्न सक्ने चर्चा बढ्यो । यतिसम्म कि, युभेन्टसले रोनाल्डोका घनिष्ठ मित्र तथा रियल मड्रिडमा २ जनाबीच राम्रो लय मिल्ने मार्सेलो भित्र्याउन पनि चासो दिएको थियो ।

तर, सरुवा चर्चाबीच पछि मार्सेलोले आफू १७ वर्षको उमेरदेखि रियलमा रहेको भन्दै रियलमै खुसी रहेको बताए । उनले आफूले रियल नछाड्ने पनि स्पष्ट पारेका थिए ।

तर, हालसालै इटालियन चर्चित पत्रका ‘टुटो स्पोर्ट्स’ ले फ्रन्ट पेजमा मार्सेलोको सरुवा विषयमा विशेष रिपोर्ट छापेको छ । उसले फ्रन्ट पेजमै मार्सेलो रियल छाडेर युभेन्टस सर्ने पक्काजस्तै भएको खबर प्रकाशित गरेको छ ।

उक्त खबरमा यो दाबी गरिएको छ कि, मार्सेलोले आगामी जनवरीमा आफूले क्लब छाड्नबारे क्लबलाई जानकारी दिइसकेका छन् । उनले रियलसँग आफू रोनाल्डो गएको क्लब युभेन्टस जान चाहेको औपचारिक रूपमै क्लबलाई जानकारी गराइसकेका छन् ।

खास गरी रियलमा रहँदा रोनाडोसँग मैदानभित्र र बाहिर विशेष सम्बन्ध रहेका मार्सेलोले पुनः रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेको बताइएको छ । त्यसका लागि युभेन्टसले पनि मार्सेलो भित्र्याउन उनका लागि कोठा खाली गर्ने तयारी थालिसकेको छ ।

त्यसका लागि युभेन्टसले लेफ्ट ब्याक एलेक्स सान्ड्रोलाई इंग्लिस प्रिमियर लिगमा लोनमा पठाउने तयारी गरेको छ । उसले सान्ड्रोको कोठा खाली गरेर रियलका मार्सेलोलाई अनुबन्ध गरेर रोनाल्डोको लयलाई थप बलियो बनाउने योजना बुनेको छ । सान्ड्रो र मार्सेलो दुवै ब्राजिलियन खेलाडी हुन् ।

यसअघि मार्सेलोले आफू रियलमै रहने बताए पनि पछिल्लो समय रियल खराब अवस्थाबाट गुज्रिन थालेपछि उनले क्लब छाड्न चाहेका हुन् । रियलमा छँदा रोनाल्डो र मार्सेलोको मैदानमा उत्कृष्ट तालमेल रहँदै आएको थियो । त्यसबाहेक उनीहरू टोलीमा सबैन्दा मिल्ने साथीका रूपमा पनि रहेका थिए ।

‘टुटो स्पोर्टस्’ ले रोनाल्डो र मार्सेलो पुनः इटालीमा एक हुने लगभग निश्चितजस्तै भएको दाबी गरेको छ । पत्रिकाले दाबी गरेको छ कि, मार्सेलो यही जनवरी सिजनमै इटाली उत्रिनेछन् ।