‘म युभेन्टसबाट च्याम्पियन्स लिग जित्न असम्भवलाई पनि सम्भव गर्ने छु’

युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो टोलीलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन हरेक असम्भवलाई सम्भव बनाउन आफू तयार रहेको बताएका छन् ।

बिहीबार राति दुबईमा सन् २०१८ का लागि वर्षको उत्कृष्ट ग्लोब सकर अवार्ड जितेपछि मिडियासँग बोल्दै रोनाल्डोले यस्तो दाबी गरेका हुन् । उनले ९ वर्ष रियल मड्रिडमा बिताएर आफू युभेन्टस आराम गर्न नआएको बताउँदै युभेन्टसका लागि हरेक उपाधि जित्नु आफ्नो लक्ष्य रहेको बताए ।

‘बाहिर मेरा बारेमा मानिस के सोचिरहेका छन्, त्यो मलाई मतलब छैन,’ रोनाल्डोले भनेका छन्, ‘मैले रियलबाट सबैथोक जितें र यहाँ पनि जित्नकै लागि आएको हुँ । युभेन्टसलाई च्याम्पियन्स लिग जिताउनु मेरो प्रमुख लक्ष्य हो । यसका लागि म असम्भवलाई सम्भव बनाउने छु ।’

रोनाल्डोले युभेन्टस बलियो टोली रहेको बताउँदै हरेक उपाधिमा दाबेदार रहेको बताए । ‘हामीसँग राम्रा र युवा खेलाडी छन् । अनुभवी खेलाडी पनि छन्,’ उनले भने, ‘हामी सबै कुरा मिलाएर अघि बढ्छौं । र, उपाधिका लागि संघर्ष गर्छौं ।’