‘म फेरि मेसीसँग खेल्न चाहन्छु, रोनाल्डो भन्दा उत्कृष्ट छन् मेसी!’- रोनाल्डिन्हो

बार्सिलोना र ब्राजीलका लिजेण्डरी फुटबलर रोनाल्डिन्होले अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीसँग बार्साबाटै सँगै खेले तापनि धेरै समय खेल्न नपाएकोमा पछुताईरहेका छन् । रोनाल्डोभन्दा मेसीलाई उत्कृष्ट मान्ने रोनाल्डिन्होले मेसीसँगै नोउ क्याम्पमा थप धेरै समय खेल्न चाहेको बताएका छन् ।

मेसीले जब ला मासियाबाट बार्साको पहिलो रोजाईको टोलीमा स्थान बनाएका थिए, त्यतिबेला रोनाल्डिन्हो एउटा उचाई र उत्कृष्ट लयमा थिए । यी दुई दक्षिण अमेरिकी स्टारले बार्सिलोनामा राम्रो समय बिताएका थिए तर दुईपटकको वल्र्ड फुटबलर अफ द ईयर घोषित रोनाल्डिन्हो सन् २००८ मा एसी मिलानतर्फ लागेका थिए ।

रोनाल्डिन्होले बार्सिलोना छोडेपछि मेसीले पाँच पटक प्रतिष्ठित बेलन डि’अर अवार्डका साथै थुप्रै अन्य उपाधि, अवार्ड तथा किर्तिमानहरु आफ्नो नाममा लेखाईसकेका छन् । रोनाल्डिन्होको विचारमा मेसी रियल मेड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोभन्दा उत्कृष्ट छन् ।

एउटा प्रमोशनल ट्रिपका लागि मलेसिया आएका ३८ बर्षिय रोनाल्डिन्होलाई तपाईंको विचारमा ‘को उत्कृष्ट’ भनेर सोधिएको प्रश्नमा उनी भन्छन् “मेसी । म उनीसँग थप लामो समय खेल्न मन पराउँछु । मलाई उनीसँगै खेल्न धेरै समय मिलेन, उनी निकै युवा थिए । उनीसँगै फेरि मैदानमा उत्रिन पाए निकै राम्रो हुने थियो ।”