‘म उत्कृष्ट खेलाडी बन्नुमा मेस्सीको ठुलो हात छ’ – रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले आफ्ना खास प्रतिद्वन्द्वी खेलाडी लियोनल मेस्सीले आफूलाई उत्कृष्ट खेलाडी बनाएको बताएका छन् । उनले पोर्चुगिज च्यानल टिभीआईसँग अन्तर्वार्ता दिने क्रममा बार्सिलोनाका कप्तान मेस्सीका कारण आफू उत्कृष्ट खेलाडी बनेको बताएका हुन् ।

युभेन्टसका स्टार खेलाडी रोनाल्डो र अर्जेन्टिनी कप्तान मेस्सीबीच अहिले प्रतिपस्र्धा चलिरहेको छ । समान पाँच–पाँच पटकका बालोन डी’ओरका विजेता उनीहरुको प्रतिस्पर्धा मैदानभित्र मात्र नभएर अवार्ड, फ्यान फलोइङ, व्यक्तिगत उपाधितिर दह्रो प्रतिस्पर्धा छ ।

जस्तै प्रतिस्पर्धा भएता पनि दुवैले एक अर्कालाई सहयोग गरिरहेको रोनाल्डोको भनाइ छ । उनले टिभीआईसँग अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘म यो स्वीकार्छु कि मेस्सी सँग धेरै फलोवर्स छन् । जब मैले स्पेनिस लिग छोड्ने बताएको थिएँ, मेस्सीले तिमीले लिग छोड्दा दुःख लाग्छ भनेका थिए । किनकी हाम्रो प्रतिद्वन्द्वीताबारे उनलाई थाहा थियो ।’

यस्तै रोनाल्डोले मेस्सीको र आफ्नो प्रतिस्पर्धा फुटबल क्षेत्रका लागि राम्रो रहेको बताएका छन्, ‘यो एक राम्रो प्रतिस्पर्धा हो जुन फुटबलमा आवश्यक पनि छ, तर यो कुनै अपवाद होइन्,’ उनले भने, ‘बास्केटबलमा माइकल जोर्डानको प्रतिस्पर्धा थियो, फर्मुला एकमा आर्यटन सेन्ना र अलाइन प्रोस्टको झन् धेरै प्रतिपर्धा थियो । यसमा एउटा समानता छ कि, दुई ठूला प्रतिद्वन्दी खेलमा हुँदा खेल क्षेत्र स्वस्थ हुन्छ ।’

यस्तै रोनाल्डोले दुई सुपरस्टारबीच प्रतिस्पर्धा हुँदा दुईमध्ये एक जना उत्तम लाग्नु सामान्य भएको बताए । यस्तै उनले अहिलेसम्म मेस्सीका साथमा डिनर नगरेको भएपनि भविष्यमा डिनर गर्न सक्ने बताए । ‘मेस्सीले मलाई एउटा उत्कृष्ट खेलाडी बनाएका हुन्,’ उनले थपे, ‘मेस्सीसँग मेरो राम्रो व्यवसायीक सम्बन्ध थियो । हामीले उस्तै क्षणहरु १५ वर्षसम्म बितायौं । मैले उनीसँग कहिले डिनर गरिँन तर किन भविष्यमा पनि नगर्ने ? त्यस्तो गर्नमा म सँग कुनै समस्या छैन ।’