म्यान्चेस्टर सिटी स्तब्ध, टोटेन्ह्याम शीर्ष स्थानमा

टोटेन्ह्याम प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेन्ह्याम शीर्ष स्थानमा उक्लिएको हो ।

टोटेन्ह्यामका प्रशिक्षक जोसे मौरिन्होले सिटी प्रशिक्षक पेप ग्वार्डीओलामाथि कठिन जित निकालेका हुन् ।

सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेन्ह्यामले खेलमा बाजी मार्यो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे ।

टोटेन्ह्यामले लिगमा लगातार चार खेलमा जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेन्ह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

दुवै टोलीका पहिलो हाफमा गरिएका गोललाई रेफ्रीले अफसाईड दिएका थिए । ह्यारी केनले अफ साईड विट गर्दै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । ग्याब्रियल जिससले डिबक्स भित्रबाट गरेको गोललाई रेफ्रीले ह्यान्ड बल भनिदिए ।

टोटेन्ह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेन्ह्यामले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १० औं स्थानमा छ ।