म्यान्चेस्टर सिटीले गरे गोलको बर्षा

ग्याब्रिएल जेससले ह्याट्रिक प्रहार गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार म्यान्चेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित गरेको छ । सिटीको लागि यो च्याम्पियन्स लिगमा सबैभन्दा फराकिलो जित हो ।

सिटीका लागि कप्तान डेविड सिल्भाले गोलको खाता खोलेका थिए । दोस्रो गोल भने निकै हास्याँस्पद रहयो । रहिम स्टरलिङ मैदानमा अल्झेर लड्दा रेफ्री भिक्टर कसाइले पेनाल्टी दिएपछि जेससले पेनाल्टीमा कुनै गल्ति गरेनन् ।

दोस्रो हाफको तेस्रो मिनेटमा नै स्टरलिङले ४८ औं मिनेटमा सिटीको अग्रता ३-० बनाए । उनले विपक्षी डिफेन्सलाई छलाउँदै गोलरक्षक आन्द्रे प्यातोभलाई कुनै मौका दिएनन् । सिटीले दोस्रो हाफमा पनि पेनाल्टी पायो । यसपटक भने सिल्भालाई लडाएको निर्णय सहि थियो र जेससले पुन गोल गरे । ८४ औं मिनेटमा माहरेजले गुन्डोगनको पासलाई सदुपयोग गर्दै गोल गरे । जेससले इन्ज्युरी समयमा माहरेजको पासलाई सदुपयोग गर्दै ६-० को जित र आफ्नो ह्याट्रिक पूरा गरे ।

सिटी अंक तालिकाको शीर्ष स्थानमा ४ खेलमा ९ अंक बोकेर बसेको छ । लियोनको ४ खेलमा ६ अंक छ भने होफेनहाइम ४ खेलमा ३ अंक जोडेको छ ।