इङलिस लिग कप कारबाओ कपको म्यान्चेष्टर डर्बीमा सिटीले शानदार जित निकालेको छ ।
युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको पहिलो लेगको खेलमा सिटीले घरेलु टोलीलाई ३–१ गोल अन्तरले हराएको हो ।
सिटीले सेमिफाईनलको दोस्रो लेग अगाडी आफुलाई बलियो बनाएको छ ।
मार्कस रासफार्डले अन्तिम समयमा गोल गर्दै युनाईटेड दोस्रो लेगमा फर्कन सक्ने आशा जगाएका थिए ।
दोस्रो लेगको खेल जनवरी २९ मा सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा हुनेछ ।
सिटीले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो ।
उसले सर्जियो अग्युरो र ग्याब्रियल जिससलाई बेन्चमा राख्दै बर्नार्डो सिल्भा र केभिन डी ब्रुईनीलाई मैदान उतारेको थियो ।
सिटीको जितमा बर्नार्डो सिल्भा, रियाद महरेजले एक एक गोल गरेका थिए । युनाईटेडका आन्द्रेस परेराले एक आत्मघाति गोल उपहार दिए ।
खेलमा अग्रता सिटीले १७ औ मिनेटमा सिल्भाको गोलबाट लिएको थियो । ३३ औ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अगाडी बढाउने काम गरे ।
युनाईटेडका परेराले आत्मघाति गोल गरेपछि सिटी पहिलो हाफमै ३–० ले अघि बढेको थियो ।
युनाईटेडका रासफार्डले ७० औ मिनेटमा गोल गर्दै घरेलु टोलीको फराकिलो अन्तरको हारलाई साँघुरो बनाउने काम गरे ।
डर्बी खेलमा प्रभाव देखिने जित निकाल्दै सिटी प्रतियोगिताको फाईनल नजिक पुगेको छ ।