म्यान्चेस्टर सिटीको कारवाओ कपमा १०-० को समग्र जित

म्यान्चेस्टर सिटीले बुधबार राति भएको खेलमा बर्टन अल्वियोनलाई १–० ले पराजित गर्दै कारवाओ कपको फाइनलमा प्रवेश गरेको हो । सिटीले समग्रमा १०–० को जित निकालेको हो । पहिलो लेगमा सिटी ९–० ले विजयी भएको थियो ।

सिटीको जितमा सर्जियो अगुएरो पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २६औं मिनेटमा रियाद महारेजको पासलाई गोलमा परिणत गरेका थिए । दोस्रो लेगमा बर्टनले सुधारिएको खेल पस्केपनि टिमलाई जिताउन सकेन ।

अब सिटीले उपाधिका लागि चेल्सी र टोटेनहमबीचको विजेतासँग खेल्नेछ । चेल्सी र टोटेनहमको खेल आज राति १ः३० बजे चेल्सीको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा टोटेनहम १-० ले विजयी रहेको थियो ।