म्यान्चेस्टर युनाइटेडको ड्याबाला भित्र्याउने प्रयास असफल

म्यानचेष्टर युनाईटेडले युभेन्ट्सका फरवार्ड पाउलो ड्याबालालाई अनुबन्धन गर्ने प्रयास असफल भएको छ । युभेन्ट्सका फरवार्ड ड्याबालाको तलबको माग सम्बोधन गर्न नसकिने भन्दै युनाईटेडले अर्जेन्टिनी फरवार्ड भित्राउने योजनाको अन्त्य गरिदिएको हो ।

युनाईटेडले २५ बर्षका अर्जेन्टिनी फरवार्डलाई रोमेलु लुकाकुसंग साटफेर गर्न सकिने विकल्प सहित प्रस्ताव अघि सारेको थियो । तर ड्याबालाले युनाईटेड जान राखेको तलब माग पुरा गर्न नसकिने भएपछि प्रिमियर लिग क्लब पछाडी हटेको हो ।

प्रशिक्षक ओले गुनर सोल्सायर युवा तथा जितको भोक भएको खेलाडीको रुपमा ड्याबालालाई युनाईटेड ल्याउन ईच्छुक देखिएका थिए ।

ड्याबाला सन् २०१५ मा पलेर्मोबाट युभेन्ट्स आएका थिए । उनले पछिल्लो सिजन १० गोलमात्र गरेका थिए । उनले च्याम्पियन्स लिगको समुह चरणको खेलमा युनाईटेडविरुद्व पहिलो लेगको खेलमा गोल गर्न सफल भएका थिए ।

यता बेल्जियमका अन्तराष्ट्रिय खेलाडी रोमेलु लुकाकुको समेत युनाईटेडमा भविष्य अनिश्चित देखिएको छ । उनी सन् २०१७ मा एभर्टनबाट ७५ मिलियन पाउण्डमा युनाईटेड आएका थिए । उनले लिगको पछिल्लो खेलमा १२ गोल गरेका थिए ।
पछिल्लो महिना युनाईटेडले सिरि ए क्लब ईन्टर मिलानले लुकाकुलाई अनुबन्धन गर्न राखेको करिब ५४ मिलियन पाउण्डको प्रस्ताव अस्विकार गरेको थियो ।