म्यान्चेस्टर युनाइटेडको महत्त्वपूर्ण जित; काभानीले खोले गोलको खाता

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा युनाईटेडले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको मैदानमा ब्रुनो फर्नान्डेस नायक बनेपछि युनाईटेडले पुनरागमन जित निकालेको हो ।

गुडिसन पार्कमा बेर्नार्डले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३२ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा एडिनस काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले लिगमा तेस्रो जित निकालेको छ । र, युनाईटेड लिगको १३ औं स्थानमा उक्लिएको छ ।

युनाईटेडले ७ खेलमा १० अंक जोडेको छ ।

युनाईटेडसँगको हारसँगै एभर्टनले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

एभर्टन ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।