म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

च्याम्पियन्स लिगमा म्यान्चेष्टर युनाईटेडले आरबी आईपेजिगलाई हराएको छ ।

बुधबार राति भएको समूह एचको खेलमा रासफोर्डको ह्याट्रिक प्रेरित युनाईटेडले आईपेजिगलाई ५–० ले हराएको हो ।

इङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी रासफोर्डले मैदान छिरेको १६ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

युवा खेलाडी मासन ग्रिनउडले प्रतियोगितामा पहिलो गोल गरे । पाउल पोग्बाको पासलाई सदुपयोग गर्दै ग्रिनउडले युनाईटेडका लागि गोलको खाता खोलेका थिए ।

दोस्रो हाफमा मैदान छिरेका रासफोर्डले ७४ औं मिनेटमा पहिलो गोल गरे । ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्दै उनले युनाईटेडलाई २–० ले अघि बढाए । त्यसको चार मिनेटपछि उनैले युनाईटेडका लागि तेस्रो गोल गरे ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ एन्थोनी मार्टियलले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ४–० को सहज अवस्थामा पुर्याएका थिए । इन्जुरी समयमा रासफोर्डले ह्याट्रिक पुरा गर्दै युनाईटेडलाई ५–० को शानदार जित दिलाए ।

आले गुनर सोल्सायरले पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो खेलमा लाईपेजिगविरुद्ध ३ अंक बटुल्दै युनाईटेडले चार खेलमा अपराजित यात्रालाई कायम राखेको छ ।

युनाईटेड ६ अंक सहित समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको पीएसजीको ३ अंक छ । आरपी लाईपेजिग ३ अंक बटुल्दै तेस्रो स्थानमा छ । इस्तान्बुल बासाकेशिर अंक विहिन हुँदै पुछारमा छ ।