म्यान्चेस्टर युनाइटेडको अविश्वसनीय जित

युरोपा लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले प्रभावशाली जित निकालेको छ ।

बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोल अन्तरले हराएको हो ।

अन्तिम खेलमा जित निकाल्दै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

शीर्ष स्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो ।

युनाईटेडको जितमा मासन ग्रिनउडले दुई गोल गरे ।

म्यान युनाईटेडका चारै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

खेलमा अग्रता युनाईटेडले ५३ औ मिनेटमा एस्ले योङको गोलबाट लिएको थियो । जुवान माटाको क्रसलाई सदुपयोग गर्दै उनले फेब्रुअरीपछि क्लबका लागि पहिलो गोल गरेका हुन् ।

ग्रिनउडले ५८ औं मिनेटमा क्लबको अग्रता दोब्बर बनाएका थिए ।

माटाले ६२ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाए । स्पेनिस मिडफिल्डरको सिजनको यो पहिलो गोल हो ।

त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई फराकिलो जित दिलाए ।

जितसंगै युनाईटेड समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । अब सोमबार प्रतियोगिताको अन्तिम ३२ को ड्र सार्वजनीक हुनेछ ।