म्यान्चेस्टर युनाइटेडको खराब प्रर्दशन जारी

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले २९ बर्षयताकै खराब प्रर्दशन गरेको छ । प्रशिक्षक जोसे माउरिन्होको टोली शनिबार भएको खेलमा वेष्टहामसंग लण्डन स्टेडियममा पराजित भएको छ । वेष्टहामले पछिल्लो १९ भेटमा पहिलो जित आत्मसाथ गरेको छ । क्लबका कीर्तिमानी खेलाडी फिलिप एन्डरसनको गोलबाट खेलको ५ औ मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो ।

४३ औ मिनेटमा भिक्टोर लेन्डिलोफको आत्मघाति गोलसंगै वेष्टहम २–० ले अगाडी बढ्यो । ७१ औ मिनेटमा मार्कोस रासफोर्डले म्यान युलाई खेलमा फर्काउने कोशिश नगरेका होईनन् । तर त्यसको ३ मिनेटपछि अर्नोटोभिचले गोल गर्दै म्यान युको पराजय निश्चित गरे ।

हारसंगै म्यान यु एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुल भन्दा ८ अंकले पछाडी परेको छ । म्यान युको ७ खेलबाट १० अंक छ । समान खेलबाट ७ अंक जोड्दै वेष्टहाम १२ औ स्थानमा छ ।