म्यानमारले दियो नेपाललाई ३० रनको झिनो लक्ष्य

आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा म्यानमारले नेपाललाई ३० रनको झिनो लक्ष्य दिएको छ, बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रनमा अलआउट भयो।

म्यानमारको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले २ ओभरमा ३ रन मात्र खर्चिए। यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए। उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए।

म्यानमारका लागि लिन आउङले सबैभन्दा बढी १६ रन जोडे। उनले २० बलमा २ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। म्यानमारका ६ ब्याट्सम्यान शून्य रनमा अलआउट भएका थिए।

छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।

छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल यही असोज २० गते मलेसियासँग खेल्नेछ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।