म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा म्यानचेस्टरले लास्कलाई २-१ र इन्टरले गेटाफेलाई २-० ले हराउँदै लिगको अन्तिम आठमा प्रवेश गरेका हुन् ।

युनाइटेडले समग्रमा ७-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो । म्यानचेस्टर मार्चमा भएको पहिलो लेगमा ५-० ले अगाडि थियो ।

५५ औं मिनेटमा फिलिपले गोल गर्दै लास्कलाई अग्रता दिलाए । पिटर मिचरलको कर्नरमा फिलिपले गोल गरेका थिए । तर, लास्कको त्यो अग्रता लामो समय टिकेन । ५७ औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई खेलमा १-१ गोलको अवस्थामा ल्याए ।

खेलकाे ८८ औं मिनेटमा माटाकै पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी भयो ।

यता इन्टरलाई क्वाटरफाइनलमा पुर्याउनका लागि रोमेलु लुकाकु र क्रिस्टियन एरिक्सनले एक/एक गोल गरे । खेलको ३३ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए । उनले एलेसान्द्रो बास्टोनीको लामो पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा थप एक गोल गर्दै जित पक्का गर्‍यो । ८३ औैं मिनेटमा रिक्सनले गोल गरेपछि इन्टरले २-० खेल जित्यो ।

अब युनाइटेडले क्वाटरफाइनलमा डेनमार्कको क्लब एफसी कोपेनहेगनको सामना गर्नेछ भने इन्टरले रेन्जर्स र बायर लिभरकुसनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।