म्यानचेस्टर युनाइटेड र आर्सनलको खेल बराबरीमा

इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार राति भएको खेलमा युनाइटेड र आर्सनलले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

ओल्ड ट्राफोर्डमा आर्सनलले बनाएको दुई पटकको अग्रता उल्टाएर युनाइटेडले बराबरी खेलेको हो । युनाइटेडका लागि एन्थोनी मार्सियल र जेसे लिंगार्डले एक एक गोल गरे । आर्सनलका स्कोड्रान मुस्ताफी र एलेक्जेन्डर लाकाजेट्सले एक एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको २६ औं मिनेटमा मुस्ताफीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा पनि आर्सनलले सुरुवाती अग्रता बनायो । खेलको ६८ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई २ – १ को अग्रता दिलाए ।

तर, त्यसको एक मिनेट नबित्दै ६९ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याउदै युनाइटेडलाई हारबाट जोगाए । लाकाजेट्सले गोल गरेको १३ सेकेन्डमै लिंगार्डले गोल फर्काएका थिए ।

यो बराबरीसंगै पांचौ स्थानको आर्सनलले १४ खेलबाट ३० अंक जोडेको छ । १४ खेलबाट २२ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ ।