म्यानचेस्टर युनाइटेडका ११ खेलाडीहरू क्लब छोड्न खोज्दै

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको फम हाल राम्रो रहेको छैन भने क्लबका केही खेलाडीहरू पनि क्लबमा खुसी नरहेको खबर छ। रिपोर्ट अनुसार युनाइटेडका केही खेलाडीहरू नयाँ कोच राल्फ रङ्गनिकबाट खुसी छैनन् भने ११ खेलाडीहरू क्लब छोड्न इच्छुक रहेका छन्।

मिररले दाबी गरेको छ कि रङ्गनिक “म्यानचेस्टर युनाइटेड ड्रेसिङ-रूमलाई एकता ल्याउन सङ्घर्ष गरिरहेका छन्” धेरै जना क्लबमा आफ्नो अवस्थाबाट खुसी नरहेको पनि मिररले दाबी गरेको छ।

खबर अनुसार ११ खेलाडीहरू क्लब छोड्न इच्छुक रहेका छन् जसमा जेसी लिंगार्ड, डोनी भान डे बेक, एरिक बेइली र डीन हेन्डरसन रहेका छन् जो क्लबमा खेल समयको अभावमा छन्। क्लब छोड्न इच्छुक रहेको बाकी ७ खेलाडीहरूको भने नाम खोलिएको छैन।

युनाइटेडले आफ्नो पछिल्लो लिग खेलमा वुल्भ्स विरुद्ध हारको सामना गरेको थियो भने हाल युनाइटेड लिगमा ३१ अंकको साथ सातौँ स्थानमा रहेको छ।