म्यानचेस्टर डर्बीमा युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। जितपछि सिटी पुनः लिगको शिर्षस्थानमा उक्लेको छ। पहिलो हाफदेखि नै खेलमा पकड बनाएको सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो। नजिकबाट उनको कडा प्रहारलाई युनाइटेडको गोल किपर डे ह्याले रोक्न सकेनन्।

खेलमा ६५ प्रतिशत पोजेसन राखेको सिटीले दोस्रो हाफको सुरुआतमा सर्जियो अगुएरोको बलियो प्रहारबाट अग्रता दोब्बर गर्यो। अगुएरोले दाँयापट्टीबाट गरेको प्रहारले डे ह्यालाई कुनै मौका दिएन। ५८ औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे। सिटीका गोलकिपर एडरसनले लुकाकुलाई लडाएपछि पाएको पेनाल्टीलाई मर्सियालले गोलमा परिणत गरेका थिए।

युनाइटेडले बराबर गर्ने केहि प्रयास गरेपनि सिटी खेलमा हावी देखियो। ८६ औं मिनेटमा गुण्डोगनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे।