म्यानचेष्टर युनाइटेड छोड्ने हल्ला मैले फैलाएको हैन: पोग्बा

चर्चित इङलिस क्लब म्यानचेष्टर युनाइटेडका स्टार फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले ओल्ड ट्राफोर्ड छोड्ने हल्ला आफूले नफैलाएको दावी गरेका छन् । हालैका दिनहरुमा पोग्बा म्यानचेष्टर युनाइटेडमा संघर्ष गरिरहेको खबरहरु बाहिर आइरहेका छन् ।

रसिया विश्वकपमा फ्रान्सलाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेका पोग्बा हाल बार्सिलोना, युभेन्ट्स लगायत अन्य थुप्रै क्लबहरुसँग लिंक भईरहेका छन् । स्रोतका अनुसार पोग्बा र युनाइटेडका म्यानेजर जोसे मौरिन्होबीचको सम्बन्ध पनि बिग्रिसकेको छ ।

हालै बाहिर निस्किएको खबरहरु अनुसार म्यानेजरसँगको खटपटका कारण क्लबले पोग्बालाई बेच्ने बिचारमा छ । म्यानचेष्टरले सन् २०१६ मा पोग्बालाई किर्तिमानी १०० मिलियन युरोमा युभेन्ट्सबाट किनेको थियो ।

युइएफए नेशन्स लिगमा जर्मनीसँग गोलरहित बराबरी खेलेपछि मिडियाहरुसँग कुरा गर्दै पोग्बाले भने, “यो सब कुराहरु गर्ने म होईन । म फिजिकली आफैसँग काम गर्ने प्रयास गरिरहेको छु । म विश्वकपपछि ढिलो आएको थिएँ, त्यसैले म जति सक्दो छिटो राम्रो प्रदर्शन गर्न प्रयास गरिरहेको छु । म सधै आफ्नो काम गरिरहेको छु । बाँकी त सबै कुराहरु भईरहन्छन् ।”