म्यानचेष्टर युनाइटेडलाई किन्न चाहन्छन् साउदी प्रिन्स

साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले इङलिस क्लब म्यानचेष्टर युनाइटेड किन्न चाहेको कुरा बाहिर आए तापनि रिपोर्टहरुको दावीअनुसार ग्लेजर्स परिवार भने क्लबलाई बेच्ने पक्षमा छैनन् ।

साउदीका क्राउन प्रिन्स बिन सलमान विश्व कै धनी व्यक्तिहरु मध्ये एक हुन् र हालै उनले युरोपको एक टप क्लबमा लगानी गर्न चाहेको खबर सार्वजनिक भएको थियो ।

यद्यपि अहिले म्यानचेष्टर युनाइटेड अमेरिकन ग्लेजर्स परिवारको स्वामित्वमा छ र स्काई स्पोर्टस् न्युजको दावी अनुसार ग्लेजेर्सले इङलिस जायन्टलाई बेच्नमा अलिकति पनि इच्छुक छैन ।

स्मरणीय छ कि मध्य एसियाका कयौं देशहरुले युरोपको शिर्ष देशहरुको क्लबहरुमा लगानी गरेका छन् । कतिपयले त ठूला क्लबहरुलाई आफ्नो स्वामित्वमा पनि बनाईसकेका छन् । अबुधाबीका शेख मंसुरले इङलिस च्याम्पियन म्यानचेष्टर सिटीमा एकलौटी लगानी गरेको छ भने पेरिस सेन्ट जर्मेन (पिएसजी) मा कतार स्पोर्टस् इन्भेष्टमेण्टको लगानी रहेको छ ।

म्यानचेष्टर युनाइटेड सन् २००५ देखि नै ग्लेजर्स परिवारको स्वामित्वमा छ र ग्लेजर्सले आफ्नो क्लबको मुल्य ३ बिलियन पाउण्ड भन्दा पनि बढी सोंचेको छ । ग्लेजर्सले युनाइटेडलाई ७९० मिलियन पाउण्डमा किनेको थियो । रिपोर्टअनुसार रेड डेभिल्सलाई किन्नका लागि आवश्यक कुराकानी शुरु गर्न पनि ग्लेजर्सले ४ बिलियन पाउण्डको प्रस्ताव सुन्न चाहन्छ ।