मोन्चेनग्लाडबाकबिरुद्धको दोस्रो हाफमा बेन्जेमाले एक पटक पनि भिनिसियसलाई पास नगरेको तथ्याङ्क

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बोरुसिया मोन्चेनग्लाडबाक बीचको खेलमा करिम बेन्जेमाले आफ्नो टिम मेट फर्ल्यान्ड मेन्डीलाई रियलका स्टार भिनिसियस जुनियरलाई पास नदिन आग्रह गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो र उनले आफैले पनि भिनिसियसलाई पास नगरेको नयाँ तथ्याङ्क रहेको छ।

 

खबर अनुसार बोरुसिया मोन्चेनग्लाडबाक बिरुद्धको खेलको दोस्रो हाफमा करिम बेन्जेमाले भिनिसियस जुनियरलाई एक पटक पनि पास गरेका थिएनन् ।

ओप्ताजोसेको तथ्याङ्क अनुसार उनले सो खेलको पहिलो हाफमा भिनिसियसलाई ३ पटक पास गरेका थिए भने दोस्रो हाफमा उनले एक पटक पनि भिनिसियस जुनियरलाई पास दिएनन्।

उक्त भिडियो सार्वजनिक भए पछि रियलका फ्यानहरु बेन्जेमा संग क्रोधित भएका थिए भने उनको धेरै आलोचना पनि भएको बेला सो खेलको नयाँ तथ्या्कले फ्यानहरु झन् चिन्तित भएका छन्।

हाफ टाइमको अन्त्य पछि फेरी मैदान छिड्ने क्रममा स्टेडियमको तनेलमा करिम बेन्जेमा र फर्ल्यान्ड मेन्डी बीच भएको कुराकानी क्यामेरामा रेकर्ड भएको थियो र बेन्जेमाले मेन्डीलाई भनेका थिए “दाजु उसलाई पास नगर। मेरो आमाको कसम ऊ हाम्रो विरुद्धमा खेलिरहेको छ।”

उनले सो कुरा आग्रह मात्र नगरेको र आफै व्यावहारिक रुपमा पनि गरेको देखिन्छ। धेरै फ्यानहरु बेन्जेमाले गरेको कार्य संग खुसी छैनन्, अनुभवी खेलाडी भए पछि युवा खेलाडीहरुलाई प्रेरणा दिनु सट्टा खेलाडीको आत्मविश्वासमा असर पर्ने कार्य बेन्जेमाले गरेको धेरै फ्यानको गुनासो रहेको छ।