मोनाकोले भित्र्याए चेल्सीका स्टार सेस फाब्रिगास

चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित भएका छन् । स्पेनिस मिडफिल्डर फाब्रिगासले थिएरी हेनरीको मोनाकोसंग साढे तीन बर्षे सम्झौता गरेका छन् । मोनाकोमा आबद्द भएपछि फाब्रिगासले नयाँ क्लबबाट खेल्न निकै उत्साहित रहेको बताए ।

‘म क्लबका लागि सहयोग गर्नेछु । पहिलो खेलबाटै राम्रो सुरुवात गर्ने लक्ष्य छ । म निकै उत्साहित छु,’ फाब्रिगासले भनेका छन् ।

३१ बर्षिय फाब्रिगासले चेल्सीका लागि गत साता अन्तिम खेल खेलेका थिए । एफए कप अन्तर्गत नटिङघम फोरेष्टविरुद्ध मैदान उत्रदै फाब्रिगासले चेल्सीबाट बिदा लिएका थिए ।
साँढे चार बर्ष चेल्सीमा बिताएका फाब्रिगासले चेल्सीबाट १९८ खेलबाट २२ गोल गरेका छन् । उनी सन् २०१४ मा बार्सिलोनाबाट चेल्सी आएका थिए । त्यसअघि फाब्रिगासले आर्सनलबाट खेलेका थिए ।