मोड्रिच संकटमा रोनाल्डो र एमबाप्पेको बालोन डी ओर जित्ने धेरै संभावना

इडेन हाजार्डले यसपटकको बालोन डी ओर अवार्ड क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले जित्ने अनुमान गरेका थिए ।

तर, अहिले उनको अनुमान फेरिएको छ । उनले यसपटक क्रिस्टियानो रोनाल्डो वा केलियन एमबाप्पेमध्ये एकले जित्ने अनुमान गरेका छन् । यो सिजनको सुरुवात रोनाल्डो र एमबाप्पले उच्च प्रदर्शन गरेका कारण उनीहरुको सम्भावना बलियो रहेको हाजार्डको अनुमान छ ।

यसपटकको बालोन डी ओर कसले जित्दा भन्ने प्रश्नमा हाजार्डको जवाफ थियो, ‘मैले सुरुमा मोड्रिचले जित्ने अनुमान गरेको थिए । तर, यो सिजन रियल म्याड्रिडको सुरुवात राम्रो हुन सकेन । एमबाप्पले भने विश्वकप देखि नै उच्च प्रदर्शन गर्दै आइरहेका छन् । त्यसले उनको सम्भावना छ । फ्रान्सलाई विश्व कप दिलाउने मध्ये एमबाप्पे एक महत्वपूर्ण खेलाडी हुन् ।’

रोनाल्डोका विषयमा बोल्दै हाजार्डले भने, ‘बालोन डी ओर जित्ने रोनाल्डोको पनि सम्भावना छ । यद्दपी अनुमान गर्नु आफैमा सजिलो छैन ।’ बालोन डी ओर पछिल्ला एक दशकमा रोनाल्डो र लियोनल मेस्सीले मात्र जितेका छन् । विश्व कपयता मोड्रिडलाई अवार्डको मुख्य दाबेदारका रुपमा हेरिदै आएको छ । यसपटकको बालोन डी ओरको घोषणा डिसेम्बर ३ मा हुँदैछ ।