मोड्रिकले जितेको बेलन डि’अर अवार्ड लिंदै रेमासको यस्तो ‘क्याप्शन’

यस बर्षको प्रतिष्ठित बेलन डि’अर अवार्ड जितेपछि क्रोएशियन मिडफिल्डर लुका मोड्रिक अहिले आफ्नो क्लब ड्युटीका लागि रियल मेड्रिड फर्किसकेका छन् । यद्यपि मोड्रिकको मेड्रिड फर्काई पछि त्यसको पुरा मजा भने रियलका कप्तान सर्जियो रेमोसले लिईरहेका छन् ।

मोड्रिकले आफूले जितेको त्यो बेलन डि अर अवार्ड मंगलबार क्लबको अभ्यास मैदानमा लगेका थिए । त्यो अवार्ड देखेपछि रेमोसले त्यो अवार्डसँगै तस्विर खिचाउन ढिलाई गरेनन् । रेमोसले सोसल मिडिया इन्स्टाग्राममा मोड्रिकले जितेको बेलन डि’अर अवार्ड लिंदै एउटा फोटो पोष्ट गरेका छन् र क्याप्सन लेखेका छन्, “यो पुरस्कार म कहिले जित्न सकुला ?”

स्मरणीय छ कि डिफेन्डरका रुपमा यो प्रतिष्ठित अवार्ड अन्तिमपटक इटालीका फाबियो कानाभारोले जितेका थिए । उनले सन् २००६ मा यो प्रतिष्ठित अवार्ड आफ्नो नाममा लेखाएका थिए । यसपटक यो अवार्डका नजिकको वरियतामा फ्रेन्च डिफेन्डर राफेल भराने थिए । यद्यपि उनले सातौं स्थानमा रहेर चित्त बुझाउनुपर्यो ।

उता खेलाडीका रुपमा हरेक उपाधि जितिसकेका रेमोसले बेलन डि अरको शिर्ष तीन भित्र अहिलेसम्म पर्न सकेका छैनन् । यस बर्ष यो अवार्डका लागि उनी २१ औं स्थानमा थिए । यद्यपि उनले आफ्नो क्लब टिममेट मोड्रिकले जितेको यो अवार्डसँग यसपटक भरपूर रमाइलो र मजा लिएका छन् ।