“मैले कसैको बलात्कार गरेको छैन, मलाई झुटो आरोप लगाइएको हो” – रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले सन् २००९ मा अमेरिकी महिलाले उनीमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै यसको जवाफ दिएका हुन् ।

रोनाल्डोले भिडियोमा भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको छन् ।

पत्रिकामा प्रकाशित रिपोर्टमा ३३ वर्षीय रोनाल्डोले सन् २००९ मा क्याथरिन मेयोर्गालाई लास भेगासको होटेलमा बलात्कार गरेको आरोप छ । त्यसबेला मायोर्गाले लास भेगास पुलिसमा रिपोर्ट पनि दर्ता गराएकी थिइन् । सन् २०१० मा उनले अदालत नगई झन्डै ३ लाख पाउण्डमा रोनाल्डोसँग यसबारे बाहिर नबोल्ने भन्दै मिलापत्र गरेको उक्त रिपोर्टमा उल्लेख छ ।

अहिले भने वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् । ‘रिपोर्ट झुटो छ । यसले रोनाल्डोको प्रतिष्ठामा प्रश्न उठेको छ र यसको कारवाही हुनुपर्छ । व्यक्तिगत अस्मितामाथि आँच पुर्याउने कार्य मान्य हुने छैन,’ वकिल क्रिस्टियन सर्जले भने ।