‘मैले अवार्ड पाउँदा रोनाल्डोले मलाई म्यासेज गरेर बधाई दिए’ – लुका मोड्रिक

फ्रान्सको मोनाकोमा युरोपियन फुटबलको अवार्ड वितरण समारोहमा इटालियन क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उपस्थित भएनन् । युरोपको वर्ष खेलाडीको अवार्डमा दाबेदार मानिएका रोनाल्डो अन्तिम समयमा सभामा गएनन् । पछि उक्त अवार्ड उनकै पूर्वटिममेट रियल मड्रिडका लुका मोड्रिकले पाए ।

टप–३ मा परे पनि अवार्ड वितरण सभामा नगएपछि धेरैले रोनाल्डो आफूले अवार्ड नपाउने भएपछि सभामा नगएको भनेर टिप्प्णी गरे । कतिले रोनाल्डो मोड्रिकले अवार्ड पाउँदा रिसाएको पनि भने । मोड्रिकको राष्ट्रिय टोली क्रोएसियाका प्रशिक्षकले त माड्रिकले अवार्ड पाउने भएरै रोनाल्डो सभामा नगएर घमन्डी खेलाडीको चरित्र देखाएको समेत बताए ।

तर, अवार्ड जितेका मोड्रिकले भने आफूले अवार्ड जितेपछि रोनाल्डोले आफूलाई म्यासेज गरेर खुसी व्यक्त गर्दै बधाई दिएको बताएका छन् । शुक्रबार स्पेनिस मिडियासँग कुरा गर्दै रियलका प्ले मेकर मोड्रिकले रोनाल्डो आफूले अवार्ड जितेकोमा खुसी रहेको बताएका हुन् ।
‘बाहिर कसले के–के भनिरहेका छन् त्यो मलाई थाहा छैन । तर, मैले युरोपियन अवार्ड जितेकोमा रोनाल्डो खुसी छन्,’ मोड्रिकले भनेका छन्, ‘उनले भोलिपल्टै मलाई सन्देश पठाएर बधाई दिँदै खुसी व्यक्त गरे ।’

मोड्रिकले अघि थपे, ‘युरोपियन उत्कृष्ट खेलाडीको अवार्डको हकदार मै भएको पनि रोनाल्डोले सन्देशमा लेखेका छन् ।’

युरोपियन सर्वश्रेष्ठ खेलाडीको अवार्डका लागि टप–३ मा रोनाल्डो, मोड्रिक र इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सालाह परेका थिए ।