मैत्रीपूर्ण खेलमा श्रीलंकाको क्लबसँग नेपाल पराजित

एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाल श्रीलंकाको चिलाउ म्यारियन्स क्रिकेट क्लबसँग ८९ रनले पराजित भएको छ।

घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा १ सय ३५ रन बनाएर अलआउट भयो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

भीम सार्कीले २६, रित गौतमले २५, पवन सर्राफले १२, हरि चौहान र रोहित कुमार पौडेलले समान ४/४ रन बनाए । सन्दिप जोरा र राशिद खानले भने खाता पनि खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिलाउ म्यारियन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । मध्यम सुरुवात गरेको म्यारियन्सले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको थियो । पहिलो विकेटका रुपमा धनुषलाई २६ रनमा गुमाएपछि दोस्रो विकेटका लागि म्यारियन्सले ४४ रनको साझेदारी गर्न सफल भयो।

बलिङमा नेपालका लागि पवन सर्राफ, सूर्य तामाङ र रासिद खानले २-२ विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले समान १-१ विकेट हात पारे ।