काठमाडौं । नेपालले आज मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा पाकिस्तानको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा छ । पाकिस्तान पनि आफ्नो अन्तर्राष्ट्रिय पुनरागमनलाई सुखद बनाउने योजनामा छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान नेपाल आएको हो । नेपाल र पाकिस्तानले हालसम्म औपचारिकरूपमा १६ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले चार र पाकिस्तानले सात जितको नतिजा निकाल्दा पाँच खेल बराबरीमा सकिएको छ ।
यी दुईले पहिलोपटक सन् १९८५ मा एकअर्काको सामना गरेका थिए । बंगलादेशको ढाकामा भएको उक्त खेल २–२ को बराबरीमा सकिएको थियो । २०१८ को साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।