‘मेस्सी २००५ मा झन्डै इस्पानियोलमा आइसकेको थियो’

इंग्लिस क्लब टोटनहमका प्रशिक्षक मौरिसियो पोचेटिन्होले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले झण्डै स्पेनिस क्लब इस्प्यानियोलसँग सम्झौता गरेको कुरा खुलाएका छन् ।
च्याम्पियन्स लिगको समूह चरणको दास्रो खेलमा टोटनहमले बुधबार राति वेम्ब्ले रंगशालमा बार्सिलोनाको सामना गर्दैछ ।

सोही खेलको पूर्व सन्ध्यामा पोचेटिन्होले मेसीले सन् २००५ मा झण्डै इस्प्यानियोलसँग सम्झौता गर्न लागेको कुरा खोलेका हुन् । पोचेटिन्होलाई फ्रेन्च क्लब बोर्डेउले सन् २००४ मा लोनमा इस्पयानियोल पठाएको थियो । पछि इस्पानियोलले उनलाई खरिद नै गरेको थियो । सोही समयमा बार्सिलोनाले मेसीलाई बेच्ने हल्ला चलेको थियो ।

मेसीको बारेमा कुरा गर्दै पोचेटिन्होले भने ‘म इस्प्यानियोलमा छँदादेखि नै मैले मेसीको बारेमा सुनेको हुँ । बार्साको एकेडेमीमा एउटा सानो केटा खेल्थ्यो ।’ उनले थपे ‘उनी बार्सिलोना १३ वर्षको उमेरमा नै आएका थिए । जब मैले मेसीको बारेमा सुनेको थिए त्यतिबेला उनी लगभग इस्प्यानियोल आउने कुरा थियो । सोही सिजनमा बार्सिलोनाले युभेन्ट्ससँग ग्याम्पर कप खेलेको थियो । उक्त कपमा सानो मेसीको प्रदर्शन तारिफयोग्य थियो ।’

‘हामी सायद सहकर्मी पो हुन्थ्यौं कि, सायद मैले उनलाई इस्पयानियोलमा नै प्रशिक्षण दिन पाउँथे कि !’
पोचेटिन्होले इस्प्यानियोलबाट व्यवसायीक फुटबलको अन्त्य गरेर प्रशिक्षक रुपमा काम पनि सोही क्लबबाट गरेका थिए । उनले सन् २००९ देखि २०१२ सम्म क्याटालोनियाको क्लब इस्पयानियोल सम्हालेका थिए ।