‘मेस्सी सहि थियो, अर्जेन्टिनाले २ वटा पेनाल्टी पाउनु पर्थ्यो’ – ब्राजिलका लेजेन्ड रिभाल्डो

कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली ब्राजिलले पाहुना टोली अर्जेन्टिनालाई २–० ले हरायो । तर, सो खेलपछि अर्जेन्टिनाका कप्तान मेस्सीले सो खेल खेलाउने रेफ्रीको शैली र निर्णयमाथि कडा आलोचना गरेका थिए ।

सो खेलमा अर्जेन्टिनाले कम्तीमा दुई पेनाल्टी पाउनुपर्नेमा खेल खेलाउने रेफ्रीले सही निर्णय दिन नसकेको मेस्सीको भनाइ थियो । त्यत्ति मात्रै हैन, आफूहरूले सर्जियो अुइएरो र ओटामेन्डीमाथि भएको फउल भिएआरबाट हेर्न अपिल गर्दासमेत रेफ्रीले बेवास्ता गरेको भन्दै मेस्सीले खेलपछि चर्को असन्तुष्टि जनाएका थिए ।

यसैक्रममा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले पनि सो विषयमा धारणा राखेका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका उनले ब्राजिल र अर्जेन्टिनाको खेल खेलाउने रेफ्रीले खेल दौरान थुप्रै गल्ती गरेको पनि बताए । सो खेलमा अर्जेन्टिनाले कम्तीमा स्पष्ट रूपमा दुई पेनाल्टी पाउनुपर्ने रिभाल्डोले बताएका छन् । मेस्सीले रेफ्रीमाथि गरेको कमेन्ट एकदमै सही भएको पनि बताए ।

‘त्यो खेल मैले पूरै हेरें । नढाँटी भन्दा त्यहाँ अर्जेन्टिनाले कम्तीमा दुई पेनाल्टी पाउनुपर्ने थियो । तर, रेफ्रीको निर्णय नै मैदानमा सर्वोपरी हुन्छ,’ रिभाल्डोले भने, ‘यस्ता महत्त्वपूर्ण खेलमा रेफ्रीका गलत निर्णय र कमजोरी सामान्य कुरा हुन सक्दैन । यस्ता कुराले खेलको नतिजामै फरक पार्छ ।’

रिभाल्डोले ब्राजिलविरुद्ध अर्जेन्टिनाले उत्कृष्ट खेले पनि नतिजा निकाल्न नसकेको बताए । ‘मेरो विचारमा ब्राजिलभन्दा अर्जेन्टिनाले राम्रो खेलेको थियो । तर, फुटबलमा राम्रो खेलेर हैन, गोल गरेर जितिन्छ,’ रिभाल्डोले भने, ‘अर्जेन्टिनाले राम्रो खेले पनि ब्राजिलले गोल निकाल्यो र खेल जित्यो ।’