मेस्सी सन् २०१८ को उत्कृष्ट खेलाडी; टप १० मा को को?

बेलायतबाट प्रकाशित हुने म्यागजिन फोरफोरटुले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी सन् २०१८ को उत्कृष्ट फुटबलर रहेको घोषणा गरेको छ । फोरफोरटुले शुक्रबार प्रकाशित गरेको उत्कृष्ट १०० फुटबल खेलाडीको सूचीमा मेसीको नाम पहिलो स्थानमा परेको हो ।

मेस्सीले सन् २०१८ मा खेलेको ५२ खेलमा ५० गोल गर्नु चानचुने कुरा नभएको कुरा उल्लेख छ । बितेको १२ महिनामा मेस्सीले अन्य खेलाडीको भन्दा उच्च प्रदर्शन गरेको कुरा पनि फोरफोरटुमा उल्लेख गरिएको छ ।

फोरफोरटुको उत्कृष्ट १०० को सूचीमा दोस्रो स्थानमा युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन् भने तेस्रो स्थानमा पीएसजीका किलियन एम्बाप्पे, चौथोमा रियल मड्रिडका लुका मोड्रिच, पाँचौमा एट्लेटिको मड्रिडका एन्टोनियो ग्रिजम्यान, छैटौंमा लिभरपुलका मोहम्मद सलाह, सातौंमा चेल्सीका इडेन हाजार्ड, आठौंमा पीएसजीका नेयमार, नवौमा एट्लेटिको मड्रिडका जान ओब्लाक तथा १० औं मा टोटनहमका ह्यारी केन रहेका छन् ।