मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की २०१९ को सर्वाधिक गोलकर्ता बन्न सफल

मेस्सी र रोनाल्डोलाइ पछि पार्दै रोबर्ट लेवान्डोस्की विश्व फुटबलको शीर्ष श्रेणीअन्तर्गत सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

लेवान्डोस्कीले पोल्यान्डका राष्ट्रिय टोली र क्लब फुटबल गरेर कुल ५४ गोल गरे । यसक्रममा उनले ५८ खेल खेलेका थिए । पछिल्लो दशक यस स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले दवाव कायम गर्दै आएका छन् । सन् २००९ मा एडिन जेको र सन् २०१७ मा ह्यारी केनपछि रोनाल्डो र मेस्सीबाहेक यस सुचिको शीर्षस्थानमा रहने लेवान्डोस्की मात्र हुन् ।

यस वर्ष दोस्रो स्थानमा बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी रहेका छन् । मेस्सीले यसवर्ष ५८ खेल खेल्दै ५० गोल गरेका थिए । उनले कोपा अमेरिकामा गरेको व्यवहारका कारण कारवाही भोग्दै ४ खेल प्रतिबन्धमा समेत परेका थिए ।

सर्वाधिक गोलकर्ता सूचिको तेस्रो स्थानमा किलीयन एमबाप्पे रहेका छन् । उनले पेरिस सेन्ट जर्मेन र फ्रान्सेली राष्ट्रिय टोली गरेर कुल ४९ खेलमा ४४ गोल गरे । चौथो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टरलिङ रहेका छन् । यस वर्ष ४१ गोल गरिसकेका उनले अझै एक खेल खेल्न बाँकी छ ।

विगतको तुलनामा केहि कमजोर प्रदर्शन रहेपछि इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डो ५० खेलमा ३९ गोल गर्दै पाँचौ स्थानमा छन् । स्कटिस क्लब रेन्जर्सका फरवार्ड अल्फ्रेडो मोरेलोसले ५३ खेलमा ३८ गोल गरेका छन् ।

युरोपेली फुटबलबाहिर चिनियाँ क्लब ग्वान्झाउका इजरायली फरवार्ड एरान जहाभीले ४० गोल गरेका छन् । अमेरिकी लिग खेल्दै आएका मेक्सिकन फरवार्ड कार्लोस भेलाले पनि ३८ गोल गरेका छन् ।