मेस्सी र रोनाल्डोलाई उछिन्दै बालोन डि’ओरको दौडमा भ्यान डाइक अगाडी

भर्जिल भ्यान डाइक यस वर्षको बालोन डि’ओरको दौडमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी रहेको मानिएको छ ।

२७ वर्षे भ्यान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भ्यान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए ।

उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । सन् २००५ मा चेल्सीका जोन टेरीले सो उपाधि जितेयता कुनै पनि डिफेन्डरले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिएनन् ।

सेप्टेम्बरमा हुने बालोन डि’ओरको समारोह अगाडी भ्यान डाइक ले अधिकांश बेटिङ साइटहरुमा अग्रस्थान ओगटेका छन् । स्काई बेट अनुसार भान डाइक पछि मेस्सी, रोनाल्डो र लिभरपुलका मोहम्मद सालाह यस वर्षका दाबेदार रहेका छन् ।

गत महिनाको कोपा अमेरिकाबाट बाहिरिनु अघि भने मेस्सी अग्रस्थानमा रहेका थिए । भ्यान डाइकले नेदरल्यान्ड्सबाट पनि उच्च प्रदर्शन गरेकाले उनी पहिलो स्थानमा उक्लिएको बुझिएको छ । अर्को लोकप्रिय खेलकुद साइट स्पोर्ट्स बाइबलले गरेको जनमतमा भने प्रशंसकहरुले मेस्सी यस वर्षको हकदार रहेको बताए । ५४ प्रतिशत प्रशंसकले मेस्सीलाई चुने भने ४० प्रतिशत मात्रले भ्यान डाइक चुनेका थिए ।