मेस्सी र अरु स्टार खेलाडी बिहिन पीएसजी जित्न असफल

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेनले लियोनसँग निराशाजनक बराबरी खेलेको छ ।

आईतबार राति लियोनको घरेलु मैदानमा लिग लिडर पीएसजीले १–१ गोलको बराबरी खेलेको हो ।

खेलको सुरुवातमा घरेलु टोली लियोनले टोलेन्टिनो कोएल्हो डी लिमाले गोलमा अग्रता बनाएको थियो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिलो केहररले पीएसजीका लागि बराबरी गोल फर्काए ।

दुवै हाफमा केलियन एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कदा पीएसजी निराश बनेको थियो ।

पीएसजीले दोस्रो स्थानको नाइससँग ११ अंकको अग्रता लिएको छ । लगातार चार खेलमा बराबरीको नतिजा निकालेको लियोन तालिकाको ११ औं स्थानमा छ ।

लियोनल मेस्सी सहितका चार खेलाडी पीएसजीको खेलमा उपस्थित थिएनन् । कोभिड पोजेटिभ भएपछि खेलाडीहरु आईसोलेसनमा रहेका छन् । मैदान फर्कन खेलाडीहरुले नेगेटिभ रिपोर्टको प्रतिक्षा गरिरहेका छन् ।

चोटका कारण नेयमार समेत पीएसजीको टोलीमा छैनन् । उनी चोटबाट मुक्त हुन प्रयास गरिरहेका छन् । उनी कम्तिमा तीन हप्ता मैदानमा देखिने छैनन् ।

शीर्ष स्थानको पीएसजी ४७ अंक सहित तालिकाको अग्रस्थानमा छ । लियोन २५ अंक सहित ११ औं स्थानमा छ ।