मेस्सी रियल बेटिसविरुद्ध खेल्न सक्ने

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेसी नियमित अभ्यास सत्रमा समावेश भएका छन्। पिडौलामा चोट देखिएपछि मेसी केही समयदेखि टिमको नियमित अभ्यास सत्रमा समावेश थिएनन् भने प्रि-सिजन टुरमा पनि समावेश थिएनन् ।

मेसी बार्सिलोनाको टिमले बुधबार गरेको अभ्यास सत्रमा समावेश भएका हुन् । मेडिकल ग्रिन लाइट पाएसँगै उनले कडा मेहनत गरिरहेका छन्।

मेसी टोलीमा फर्केसँगै मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देलाई राहत भएको छ । ओस्माने डेम्बेले तथा लुइस स्वारेज समेत घाइते भएको अवस्थामा मेसी टोलीमा फर्किदा फरवार्ड लाइन बलियो हुने भएको छ।

बार्सिलोनाले ला लिगाको दोस्रो खेल घरेलु मैदान क्याम्प नाउमा रियल बेटिसविरुद्ध खेल्दैछ।

पहिलो खेलमा भने बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग १-०ले हारेको थियो।