‘मेस्सी राम्रो कप्तान होइनन्’ – म्याराडोना

डिएगो म्याराडोनाले बार्सिलोना तथा अर्जेन्टिना राष्ट्रिय टोलीका वर्तमान कप्तान लिओनेल मेसी नेतृत्व गर्न उचित व्यक्ति नभएको अभिव्यक्ति दिएका छन् ।

सन् २०१० मा दक्षिण अफ्रीकामा भएको विश्वकप दौरान मेसीलाई कप्तानीको समेत जिम्मेवारी दिएका म्याराडोनाले मेसी कप्तान बन्दा टोलीलाई कुनै किसिमको फाइदा नहुने बताएका हुन् । म्याराडोनाले मेसी अन्तर्राष्ट्रिय खेलबाट टाढा रहनु नै उचित रहेको पनि बताए । ‘ मेसी एक उत्कृष्ट खेलाडी हुन् । तर उनी कप्तान हुन लायक भने छैनन्,’ म्याराडोनाले भने, ‘उनी प्रशिक्षक र खेलाडीसँग बोलेर बस्नुभन्दा प्लेस्टेसन खेल्न रुची राख्ने गर्छन् । उनी मैदानभित्र कप्तान बन्ने दावी गरेपनि मैदान बाहिर भने त्यसो गर्न सक्दैनन् ।’

म्याराडोनाले मेसी नर्भस भएर खेल अगाडी २० पटक बाथरुम जाने गरेको पनि बताए । ‘ जो खेलाडी खेल सुरु हुनुअघि २० पटक बाथरुम जान्छ, उसलाई कप्तान बनाएर केहि हुनेवाला छैन,’ उनले थपे, ‘ मेसीलाई भगवान बनाएर केहि हुनेवाला छैन । मेसी बार्सिलोनामा र अर्जेन्टिनामा फरक ढंगले प्रस्तुत हुने गरेका छन् । राष्ट्रिय टोलीमा मेरो हक लाग्छ भने म उनलाई बोलाउने छैन ।’

मेसीले रुस विश्वकपपछि राष्ट्रिय टोलीबाट खेलेका छैनन् । अर्जेन्टिना विश्वकपको विजेता फ्रान्ससँग राउण्ड अफ १६ मा पराजित हुँदै घर फर्किएको थियो । कार्यवाहक प्रशिक्षक लिओनेल स्कालोनीले भने मेसी चाडैं नै राष्ट्रिय टोलीमा फर्कने विश्वासमा अडिग छन् । उनले मेसी अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोलीमा फर्कने अपेक्षा गरेका छन् ।

मेसीको अनुपस्थितिमा अर्जेन्टिनालाई घाटा भने भएको छैन । नयाँ खेलाडीलाई मौका दिइरहेको अवस्थामा पनि टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । विश्वकपपछि खेलेका तीनै खेलमा अर्जेन्टिना अपराजित रहेको छ । यता मेसीले पनि सोहि समयमा बार्सिलोनाका लागि ११ खेलमा ११ गोल गरेका छन् ।