मेस्सी माथि सर्जियो रामोसको यस्तो ‘गम्भीर’ आरोप

केहि दिन अगाडि भएको एल क्लासिको खेलमा रेफ्री अलेजान्ड्रो हर्जान्डेजले ‘पक्षपाती भूमिका खेलेको’ तथा घरेलु टोली बार्सिलोनाको पक्षमा निर्णय लिएको आरोप लगाउँदै रियलका खेलाडीले आपत्ति जनाइरहेका छन् । स्पेनिस सञ्चारमाध्यमले पनि उक्त खेल दौरान रेफ्री ‘अस्वभाविक’ रूपमा प्रस्तुत भएको समाचार छापेका छन् ।

यसैबेला रियलका कप्तान सर्जियो रामोसले बार्सिलोनाका स्टार लिओनल मेस्सीमाथि गम्भीर आरोप लगाएका छन् । उनले पहिलो हाफपछि मेस्सीले रेफ्री हर्नान्डेजलाई नियोजित रूपमा दबाब दिएको आरोप लगाएका छन् ।

सोक्रममा रामोसले पहिलो हाफपछि ब्रेक भएका बेला ट्युनेलमा मेस्सी र हर्नान्डेजबीच शंकास्पद कुराकानी भएको र त्यसपछि मैदानमा फरक दृश्य देखिएको बताएका छन् । रामोसले पहिलो हाफमा लुइस स्वारेजले राफेल भारानेमाथि गरेको फउल गम्भीर भए पनि रेफ्रीले बेवास्त गरेको बताए ।
‘मेस्सीले ब्रेक हुँदा ट्युनेलमा रेफ्रीसँग शंकास्पद कुराकाने गरे, त्यो हामीले स्पष्ट रूपमा देखेका छौं,’ रामोसले भने, ‘सायद मेस्सीले रेफ्रीलाई दबाब दिए वा प्रभावमा पारे ।’

पहिलो हाफपछि बािर्सलोना मैदानमा ‘अराजक’ भएको भन्दै उनीहरूले गम्भीर फउल गर्दा पनि रेफ्रीले एक्सन नलिनु आश्चार्यजनक रहेको रामोसको भनाइ छ । ‘दोस्रो हाफमा मार्सेलोमाथि भएको फउल असामान्य थियो, त्यो पेनाल्टी दिनलायक थियो । तर, रेफ्रीले त्यहाँ आवश्यक निर्णय लिएनन्,’ रामोसले भने, ‘जब मेस्सी र रेफ्रबीच कुरा भयो, मैदानमा फरक भयो ।’

रामोसले भनेजस्तै ट्युनेलमा मेस्सी र रेफ्री हर्नान्डेजले कुराकानी गर्दै गरेको तस्बिर सार्वजनिक भए पनि त्यसक्रममा मेस्सीले के भने भन्ने खुलिसकेको छैन ।

स्पेनिस ‘मार्सा’का अनुसार रियलले ट्युनेलमा भएको मेस्सी र रेफ्रीको कुराकानीलाई गम्भीर रूपमा लिएको बताउँदै उसले छानबिनका लागि माग गर्न सक्ने जनाएको छ ।

रियलले मेस्सीले रेफ्रीलाई दबाब दिएर खेलको नतिजा फरक पार्न भूमिका खेलेको आरोप लगाएको छ । तर, हालसम्म यसबारे बार्सिलोना र उसका कुनै पनि खेलाडीले केही प्रतिक्रिया दिएका छैनन् ।