फुटबलका लेजेन्ड डेभिड बेख्यामले आफ्नो क्लब इन्टर मियामीमा पिएसजीका स्टार लियोनेल मेस्सीलाई भित्र्याउन इच्छुक रहेको रिपोर्ट्सहरुले जनाएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार मेस्सी पिएसजीको सम्झौता सकिएपछि अमेरिकन लिग खेल्न सक्ने बताइएको छ ।
मेस्सीका एजेन्टसमेत रहेका उनका बुबाले अमेरिकन क्लब इन्टर मियामीसँग सम्भावित सम्झौताको बारेमा छलफल गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
डेभिड बेकहमको एमएलएस फ्रेन्चाईजी क्लबले मेसीलाई भित्र्याउने पहल गरिरहेको छ । मेस्सीलाई अमेरिका लैजादा क्लब र लिग दुवैलाई ठुलो फाइदा हुने हुनाले यो पहल भइरहेको बताइएको छ ।
२०२१ को अगस्तमा सरप्राइजरुपमा मेस्सीले बार्सिलोना छोडेका थिए । तर अब उनको बार्सिलोनामा पुनरागमनका बारेमा अनेकौं अड्कल बाजी भइरहेका छन् । अमेरिका जाने चर्चाका बिच पिएसजीले मेस्सीलाई नयाँ अफर गर्ने योजना बनाइरहेको बताइएको छ । पहिलो सिजन निराशाजनक रहेपनि यस सिजनमा मेस्सीको उत्कृष्ट प्रदर्शनले पिएसजीको व्यवस्थापन उत्साहित रहेको छ ।
द एथलेटिकले मेस्सीका पिताले केहि महिना अघि देखि नै अमेरिका जाने विषयमा छलफल गरिरहेको उल्लेख गरेको छ । बेकहमसहित इन्टर मियामीका पार्टनर रहेका जर्ज र जोस मासले मेस्सीका पितासँग छलफल गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
मेस्सी अहिले विश्वकपमा ध्यान केन्द्रित गरिरहेकाले विश्वकपपछि नै उनले आफ्नो सम्झौता बारे निर्णय गर्ने तयारीमा रहेका छन् । बेकहामको नेतृत्वमा २०१८ मा स्थापना गरिएको इन्टर मियामीले २०२० मा मात्र एमएलएस डेभ्यु गरेको थियो । दुई बर्षको छोटो इतिहास भएको यस क्लबले यसअघि गोन्जालो हुगैन, किएरन गिब्स जस्ता खेलाडीलाई भित्र्याइसकेको छ । अब भने मेस्सीलाई भित्र्याएर क्लबले अमेरिकी लिगलाई नै नयाँ उचाईमा लैजाने तयारीमा जुटेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।