मेस्सी भन्दा धेरै गोल गर्दै आन्द्रे सिल्भा ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा

मेस्सी बार्सिलोनाको इतिहासकै सर्वाधिक गोलकर्ता हुन् भने गत सिजन पनि मेस्सी नै ला लिगाको सर्वाधिक गोलकर्ता बने । यसपटक पनि मेस्सी गोलको मामिलामा लयमै छन् । उनले ला लिगाको सिजनको पहिलो खेलमै हुएस्काविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेर यसको जनाउ दिइसकेका छन् ।

सधैं ला लिगाको सर्वाधिक गोलकर्तामा मेस्सीको प्रतिस्पर्धा रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो, आफ्नै टिममेट लुइस स्वारेज, एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजम्यानसँग हुने गथ्र्यो । त्यसमा पनि मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा केन्द्रमा हुन्थ्यो ।

तर, यस सिजन ला लिगामा फरक सिनारियो देखिने संकेत छ । यसपटक गोल संख्यामा मेस्सीको प्रतिस्पर्धा रोनाल्डोसँग नभएर आन्द्रे सिल्भासँग हुने देखिएको छ । अहिले नै यो भन्नु हतारो हुनसक्छ । तर, सुरुआती ७ खेलको गतिबाट यस सिजन ला लिगामा मेस्सी र सेभिल्लाका पोर्चुगिज फरवार्ड सिल्भा गोलको संख्यामा अगाडि रहेको छ ।

यसै सिजन इटालियन क्लब एसी मिलानबाट लोनमा सेभिल्ला आइपुगेका सिल्भाले ७ गोल गरिसकेका छन् । उनले ७ खेलमा ७ गोल गर्दै स्पेनमा नयाँ उदयको संकेत दिइसकेका छन् । मेस्सीले भने कूल ७ खेलबाट मात्रै ५ गोल गरेका छन् । त्यसमा मेस्सीले एक ह्याट्रिक गरेका छन् । तर, मेस्सीको नाममा ५ असिस्ट छ भने सिल्भाको नाममा असिस्ट छैन ।

ला लिगामा हाल सर्वाधिक गोलकर्ताको सूचीमा सिल्भा ७ गोलसहित सबैभन्दा शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा जिरोनाका क्रिस्टियन स्टुआनी ६ गोलसहित रहेका छन् । त्यसपछि ५–५ गोलसहित बार्सिलोनाका लिओनल मेस्सी र सेल्टा भिगोको इयागो आसपास तेस्रो र चौथो स्थानमा रहेका छन् ।

Andre Siva – Current La Liga Top Scorer