मेस्सी बिना को बार्सिलोनाको यो सिजन पहिलो हार

यो सिजन अपराजित रहेको बार्सलोनाले सिजनको पहिलो हार व्यहोरेको छ । लिगको ३७औं हप्ताको ९ गोलको थ्रिलर रोमाञ्चक खेलमा लिगको १५ औं स्थानको लेभान्टेले बार्सिलोनालाई आफ्नो घरमा सिजनको पहिलो हार चखाएको हो ।

नेपाली समयअनुसार सोमबार बिहान लेभान्टेको घरेलु मैदानमा भएको खेलमा लिग विजेता बार्सिलोना ५–४ ले स्तब्ध भयो । सिजनको पहिलो हार व्यहोर्दा बार्सिलोना पूरै सिजन अपराजित रहँदै सिजन सिध्याउने सुनौलो अवसरबाट समेत चुकेको छ ।

जारी सिजन बार्सिलोनाले लिगका ३६ खेल खेल्दा कुनै खेल हारेको थिएन । तर, सिंगै लिगको अन्तिम एक खेल बाँकी छँदा बार्सिलोना ३७औं खेलमा अभागी साबित भयो ।

आफ्ना स्टार खोलडी लिआनेल मेस्सी, प्रमुख डिफेन्डर सामुएल उम्टिटी र सर्जी रोवेर्टोबिनै मैदान उत्रिँदा बार्सिलोनालाई त्यसको मूल्य महँगो पर्न गयो । उम्टिटी चोट र रावेर्टो प्रतिबन्धका कारण यस खेलमा सामेल थिएनन् ।
बार्सिलोना ला लिगाका पछिल्ला ४३ खेलसम्म अपराजित थियो । अब उसको ४३ खेलको अपराजित टोलीको रेकर्ड पनि यहीं टुंगिएको छ ।

९ गोलको थ्रिलर देखिएको खेलमा लेभान्टेका लागि इम्यानुल बोटेङले ह्याट्रिक गोल गरे । त्यस्तै, इनिस बार्धीले २ गोल गरे ।
यता, बार्सिलोनाका लागि फिलिपे कोटिन्होले क्लबका लागि पहिलो ह्याट्रिक गोल गरे । त्यस्तै, लुइस स्वारेजले पेनाल्टीबाट १ गोल गरे ।

निकै सनसनीपूर्ण खेलमा पहिलो हाफमा कूल ३ गोल भए भने बाँकी ६ खेल दोस्रो हाफमा भएका थिए । लेभान्टेले पाहुना टोलीविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।
खेलको १०औं मिनेटमा इम्यानुले बोटेङले गोल गर्दै लेभान्टेलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३०औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरे ।

तर, खेलको ३८औं मिनेटमा बार्सिलोनाका लागि गत जनवरीमा क्लबमा अनुबन्ध भएका कोटिन्होले गोल गर्दै पहिलो हाफमा २–१ बनाए ।

दोस्रो हाफमा घरेलु टोली लेभान्टे सुरुबाटै आक्रामक भयो । उसका लागि ४६औं मिनेटमा इनिस बार्धीले गोल गर्दै खेल ३–१ बनाए । लगत्तै बोटेङले खेलको ४९औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा लेभान्टे ४–१ ले अगाडि रह्यो ।

त्यसपछि खेलको ५६औं मिनेटमा बार्धीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लेभान्टे ५–१ ले अगाडि भयो ।तर, त्यसपछि बार्सिलोनाले खेलमा फर्किने संकेत दियो । उसका लागि खेलको ५९औं मिनेटमा कोटिन्होले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै उनले ६४औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्दै गोलअन्तर ५–३ मा झारे ।

त्यसपछि खेलको ७१औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । जहाँ स्वारेजले गोल गर्दै गोलअन्तर ५–४ मा झारे । तर, त्यसपछिको बाँकी समय २३ मिनेटमा बार्सिलोनाले गोल फर्काउन सकेन । र, खेल ५–४ ले लेभान्टेले जित्यो । खेलको अन्तिम मिनेटमा लेभान्टेले छैटौं गोल गर्ने अवसर पाएको थियो । तर, उसका खेलाडी वान टु वानमा चुकेका थिए ।

त्यस्तै, उक्त खेलमा बार्सिलोनाका लुइस स्वारेज पटक–पटक चुकेका थिए । उनले कम्तीमा ३ सहज गोलका अवसर खेल फालेका थिए ।

यो हारपछि बार्सिलोनाले सिजनको पहिलो हार व्यहोर्दै पहिलोपटक अंक जोड्न असफल भएको छ । अब लिगको अन्तिम खेल बाँकी छँदा बार्सिलोनाको खातामा ३७ खेलबाट कूल ९० अंक भएको छ ।

बार्सिलोना अब दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ र तेस्रो स्थानको रियल मड्रिडभन्दा १५ अंकले अघि रहेको छ ।
यता, बार्सिलोनालाई सिजनको पहिलो हार चखाउने लेभान्टेले ३७ खेलबाट ४६ अंक जोड्दै लिगमा १६ बाट १५औं स्थानमा उक्लिएको छ ।यो सिजन लेभान्टेले ३७ खेलमा ११ खेल जितेर १३ खेल बराबरी गरेको छ भने १३ खेल हारेको छ ।