मेस्सी बने च्याम्पियन्स लिगमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी, रोनाल्डो भन्दा अगाडि

युरोपियन च्याम्पियन्स लिग फुटबलमा यस सिजनको पहिलो खेलमै बार्सिलोनाका कप्तान लिओनल मेस्सीले सनसनीपूर्ण ह्याट्रिक गरे । उनले आफ्नो घरेलु मैदानमा गत राति भएको समूह चरणको पहिलो खेलमा पिएसभीविरुद्ध ४–० को जित दिलाउनेक्रममा ह्याट्रिक गरेका थिए ।

त्यसक्रममा मेस्सीले एक दर्शनीय फ्रि किक गोलसमेत गरेका थिए । मेस्सीले ह्याट्रिक गर्दा टोलीले शानदार जित मात्रै निकालेन, च्याम्पियन्स लिगमा मेस्सीले एक नयाँ कीर्तिमानसमेत बनाएका छन् ।

च्याम्पियन्स लिगमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रेकर्डधारी खेलाडी मानिन्छन् । बार्सिलोना क्लबले आजसम्म जितेजति उपाधि त रोनाल्डो एक्लैले जितेका छन् भने लिगको सर्वाधिक गोलकर्तामा पनि उनी नै अगाडि रहेका छन् ।

पछिल्ला ६ सिजन लगातार रोनाल्डो नै सर्वाधिक गोलकर्ता बन्दै आएका छन् ।

तर, च्याम्पियन्स लिगको सर्वाधिक ह्याट्रिक गर्ने मामिलामा भने मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । गत रातिको खेलमा मेस्सीले गरेको ह्याट्रिक च्याम्पियन्स लिगको इतिहासमा उनको आठौं ह्याट्रिक थियो ।

यो ह्याट्रिकसँगै मेस्सीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने मामिलामा रोनाल्डोलाई पछि पारेका छन् । रियल मड्रिडका पूर्व तथा हाल युभेन्टसबाट खेलिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा जम्मा ७ पटक ह्याट्रिक गरेका छन् ।

अब रोनाल्डो मेस्सीभन्दा एक ह्याट्रिकले पछि परेका छन् । तर, अझै पनि समग्र गोल संख्यामा भने रोनाल्डो नै अगाडि छन् । रोनाल्डोको १ सय २० गोल छ भने मेस्सीको १ सय ३ गोल मात्रै छ । मेस्सी कूल गोल संख्यामा रोनाल्डोभन्दा अझै १७ गोलले पछि छन् ।

तर, रोनाल्डोले आज राति च्याम्पियन्स लिगमा युभेन्टसका लागि पहिलो खेल खेल्दैछन् । स्पेनिस भ्यालेन्सियाविरुद्ध उत्रिँदा रोनाल्डोले पनि ह्याट्रिक गरे मेस्सीसँग उनको रेकर्ड बराबरी हुनेछ । ह्याट्रिक नगरी गोल मात्रै गरे पनि उनले मेस्सीलाई गोल संख्यामा थप पछि पार्नेछन् ।