‘मेस्सीसँग खेल्न पाउदा सपना जस्तो लाग्छ’

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर अर्थुर मेलोले बार्सिलोनाबाट खेल्न पाउँदा आफू ज्यादै खुसी रहेको बताएका छन् । उनले बार्सिलोना आफ्नो सपनाको क्लब रहेको बताउँदै आज सोही क्लबबाट खेल्न पाउँदा आफ्नो सपना पूरा भएको अर्थुरले बताएका छन् ।

 

‘मुन्डो डेभोर्टिभो’सँग कुरा गर्दै यसै सिजन बार्सिलोनामा अनुबन्ध भएका ब्राजिलियन खेलाडीले आफू अहिले बार्सिलोनामा सिक्नेक्रममा रहेको बताएका छन् । उनले बार्सिलोना विश्वकै उत्कृष्ट क्लब रहेको पनि बताएका छन् ।

 

अर्थुरले बार्सिलोना संसारमा बेग्लै एकता रहेको क्लब भएको पनि बताएका छन् । ‘मैले यहाँजस्तो खेलाडीबीच एकता अन्त देखेको छैन,’ उनले भने, ‘यो नै टोलीको शक्ति हो । वास्तवमा बार्सिलोना एक भव्य क्लब हो ।’

 

कुराकानीक्रममा अर्थुरले आफू अपत्यारिलो गरी बार्सिलोना आइपुगेको पनि बताए । ‘यस क्लबबाट खेल्ने सबै खेलाडीको सपना हुन्छ । मेरो पनि थियो । साँच्चै भन्नुपर्दा म नाटकीय रूपले यहाँ आइपुगें,’ उनले भने, ‘कतिपटक त म आफैंलाई पनि पत्याउन मुस्किल भएको थियो ।’
अर्को प्रसंगमा अर्थुरले बार्सिलोनाका पूर्वकप्तान आन्द्रेस इनिएस्टा आफ्ना लागि आइडल रहेको बताए । इनिएस्टा पनि हाल क्रिसमस पर्वका लागि जापानबाट स्पेन आइपुगेका छन् । र, अर्थुर र इनिएस्टाले पनि भेट गरेका छन् ।


‘इनिएस्टासँगको मेरो भेट अविष्मरणीय रह्यो । मेरा लागि त यो उपहारजस्तै भयो । सानै छँदादेखि उनी मेरा आइडल हुन् । यपटक मैले उनलाई पहिलोपटक नजिकैबाट देखें र हात पनि मिलाएँ,’ अर्थुरले भने ।

अर्थुरले मेस्सीबारे पनि बोलेका छन् । उनले अहिले आफू मेस्सीसँग खेलिरहेको छु भन्दा सपनाजस्तो लाने गरेको बताए । ‘कहिलेकाहीं त म आफैंलाई चिमोट्छु कि, के म साँच्चै मेस्सीसँग खेलिरहेको छु त भनेर,’ अर्थुरले भने, ‘यो भन्दा बढी म के भनुँ ? मेरा लागि त यो सपनाजस्तै भयो ।’