‘मेस्सीसंग खेल्न निकै आतुर छु’ – ग्रिजम्यान

ग्रिजम्यानले बार्सिलोनामा मेस्सीसँगै खेल्न आफू आतुर रहेको बताएका छन् । स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा फ्रान्सली स्ट्राइकर ग्रिजम्यानले भनेका छन्, ‘हो आश्चर्यजनक हुनेछ । म यो जान्न उत्साहित छु कि मेस्सी दिनदिनै के रुचाउँछन्, ट्रेनिङमा के मन पराउँछन् ।’

तर मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन । उनले बार्सिलोनाको प्रिसिजनका केही अभ्यास खेल गुमाउने बताईएको छ । मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ ।

मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन् । प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका थिए ।

सोहि क्रममा उनले मेस्सीसँग कसैसँग नभएको अनौठो फुटबल कला भएको बताए। ‘मेस्सी अन्य खेलडी भन्दा केही फरक छन् ।,’ ग्रिजम्यानले भने, ‘मेस्सीले त्यो काम गरेर देखाएका छन् जो अन्य खेलाडीले गर्न सकेका छैनन् ।’

ग्रिजम्यानले मेस्सी आफ्नो लागि एक नम्बर समेत रहेको बताए । ‘मेस्सी फुटबलका नं एक हुन्, जस्तै लेब्रोन जेम्स बास्केटबलका नं एक हुन्।’,उनले भने ‘उनीहरु फुटबल र बास्केटबलका इमेज हुन् ।’

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गर्दैछ । बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गर्न लागेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेल्दैछ । प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ ।