‘मेस्सीले बार्सिलोनाको लागि जस्तो चिन्ता अर्जेन्टिनाको को लागि गर्दैनन्’

पाँचपटक बालोन डि‘ओर अवार्ड जितेका लिओनल मेस्सीले हालसम्म आफ्नो देश अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । तर, उनले क्लब बार्सिलोनाबाट जित्न बाँकी केही छैन । क्लब फुटबलमा सबैखाले सफलता चाखेका उनले राष्ट्रिय टोलीबाट उपाधिको भोक र प्यास मेटाउन सकेका छैनन् ।

यस्तो अवस्थाबीच बेला–बोल मेस्सीले क्बलका लागि राम्रो खेल्ने तर राष्ट्रिय टोलीमा सोहीअनुसार प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । यही विषयले मेस्सी थुप्रैपटक आलोचित बनेका छन् । अर्जेन्टिनामा यही करणले मेस्सीको आलोचना गर्ने जमात् पनि ठूलै छ ।

यसैबेला अर्जेन्टिनाकै लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले पनि यस्तै बताएका छन् । अघिल्लो दिन एक अन्तर्वार्ताक्रममा बोल्दै म्याराडोनाले मेस्सी एक उत्कृष्ट खेलाडी भए पनि उनले राष्ट्रिय टोलीका लागि कुनै योगदान दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

म्याराडोनाले मेस्सी सन् २०१० देखि अर्जेन्टिनी टोलीको कप्तान रहँदै आए पनि उनले टोलीका लागि नेताको भूमिका पूरा गर्न नसकेको बताए ।

त्यत्ति मात्रै हैन, म्याराडोनाले मेस्सीले क्लब बार्सिलोनाका लागि सधैं उच्च प्रदर्शन गर्ने तर सोहीअनुसार अर्जेन्टिनी टोलीमा गर्न नसकेको आरोप लगाए । ‘मेस्सी उत्कृष्ट खेलाडी हुन्, यो म सधैं भन्छु,’ म्याराडोनाले भनेका छन्, ‘तर, उनले जति धेरै बार्सिलोनाबारे सोच्छन्, त्यत्ति अर्जेन्टिनाको टोलीबारे सोच्दैनन्, यसो भन्नुपर्दा दुःख लाग्छ ।’

सोही प्रसंगमा म्याराडोनाले मेस्सी कप्तान बन्न लायक व्यक्ति नभएको पनि बताए । ‘जो खेलाडी खेलअघि नर्भस भएर २० पटकसम्म बाथरुम जान्छ, त्यस्तो कप्तानबाट केही हुनेवाला छैन ।’

मेस्सीको आलोचन गर्न कुनै कसुर बाँकी नराखेका म्याराडोनाले मेस्सीलाई अब राष्ट्रिय टोलीमा नफर्किनसमेत सुझाव दिए ।

केही समयअघि भने म्याराडोनाले अर्जेन्टिनी टोली हार्दा जहिल्यै मेस्सीलाई मात्रै गाली गर्ने गरेको भन्दै मेस्सीको बचाउ गरेका थिए । उनले अर्जेन्टिनाले उपाधि जित्न नसक्नुमा दोषी मेस्सी मात्रै नभएको बताएका थिए ।

तर, त्यसो भनेको करिब दुई हप्तापछि नै म्याराडोनाले मेस्सीको चर्को आलाचना गर्दै अहिले अर्जेन्टिना र बार्सिलोनाको कप्तानी गलत व्यक्तिको हातमा रहेको बताए ।