मेस्सीले नेयमारलाई बार्सिलोना फर्किन भन्दै लेखे यस्तो सन्देश

लियोनल मेस्सीले पूर्वसहकर्मी नेयमारलाई क्लब फर्किन भन्दै सन्देश पठाएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेस्सी केही दिनअघि मात्र नेयमारलाई यसै समरमा क्लब फर्किन म्यासेज गरेका हुन् ।

अर्जेन्टिनी स्टार मेस्सी र ब्राजिलका स्टार नेयमारबीच सरुवा विषयमा सन्देश साटासाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् । स्पेनिस मिडिया एएसका अनुसार बार्सिलोनामा एक साथ ४ वर्ष बिताएका मेस्सीले नेयमारको सरुवाको विषयमा आफ्ना तर्फबाट सक्दो प्रयास गर्ने बताउँदै सन्देश पठाएका थिए ।

नेयमार र बार्सिलोनाबीच सहमति बन्न नसकेपछि नेयमार पूर्वक्लब फर्किने विषय बन्द भइसकेको छ । स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले नेयमारलाई क्लबमा फर्काउनका लागि अथक प्रयास गरिसकेको छ । तर, पटक–पटक नेयमारको सरुवाको विषयमा सहमति हुन नसकेपछि नेयमार बार्सिलोना आउजे बाटो जनवरी महिनासम्मका लागि बन्द भइसकेको छ । अब नेयमारले कम्तिमा जनवरी महिनासम्म लिग वान क्लब पीएसजीमै रहनुपर्ने छ ।

सन् २०१७ मा २ सय २२ मिलियन कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी २ वर्षपछि पूर्वक्लब फर्किने मनसायमा थिए । तर, पीएसजीले उनको स्थानान्तरणको विषयमा सहमति बनाउन नसक्दा उनी स्पेन फर्किन असफल भएका थिए । तर, मेस्सीले केही दिनअघि मात्र नेयमारलाई क्लब फर्किन अनुरोध गर्दै सन्देश पठाएको एएसको दाबी छ ।

नेयमार सन् २०१३ मा सान्टोसदेखि बार्सिलोना गएका थिए । उनी त्यहाँ छँदा मेस्सीसँग राम्रो सम्बन्ध रहेको थियो । ४ वर्षे बसाइका क्रममा नेयमारको सम्बन्ध मैदानमा मात्र नभएर मैदानबाहिर पनि उत्तिकै राम्रो रहेको थियो । मेस्सी मात्र नभएर नेयमार लुइस स्वारेजसँग पनि उत्तिकै मिल्थे । यसै क्रममा उनले २ वटा ला लिगा र सन् २०१५ को च्याम्पियन्स लिग पनि जितेका थिए । त्यसपछि बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

अहिले नेयमार पीएसजीमा रहेर लिग वान खेलिरहेका छन् । तर, २ वर्ष लिग वान च्याम्पियन क्लब पीएसजीबाट खेलिरहँदा उनी अधिकांश खेलमा घाइते भइ मैदानबाहिर रहेका छन् । उनले घाइते भएका कारण क्लबको मात्र नभएर राष्ट्रका लागि पनि खेल्न पाइरहेका थिएनन् । क्लबमा अपेक्षाअनुरुपको प्रदर्शन गर्न नसकेपछि उनी क्लब छोड्ने मनसायमा थिए ।