मेस्सीले नेइमारलाई बार्सिलोना फर्काएरै छाड्ने, यस्तो छ रहस्य

बार्सिलोनाका कप्तान लिआनेल मेस्सीले आफ्ना पूर्वसहकर्मी नेइमारलाई पुनः बार्सिलोना फर्काउन लागिपरहेको खबर छ । ‘बिबिसी’मा प्रकाशित समाचारअनुसार मेस्सीले दीर्घकालीन रूपमा नेइमारलाई बार्सिलोना फर्काउन चासो देखाएका हुन् ।
नेइमार २ वर्षअघि विश्वकीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी गएका थिए । स्मरणीय कुरा यो छ कि, नेइमारले बार्सिलोना छाड्नुको कारण पनि मेस्सी नै थिए ।

नेइमारले मेस्सीको छायाँबाट मुक्त हुन पिएसजी जाने निर्णय गरेका थिए । यो कुरा नेइमारले बार्सिलोना छाड्नासाथ पिएसजी तथा ब्राजिलका खेलाडी ड्यानी आल्भेसले पनि बताएका थिए । आल्भेस बार्सिलोनाका पूर्वखेलाडीसमेत हुन् ।
खास गरी नेइमार बार्सिलोनाभन्दा बाहिरका क्लबट घरेलु लिग र युरोपियन च्याम्पियन्स लिग जित्न चाहन्थे । पिएसजीलाई गएको वर्ष उनले ३ घरेलु उपाधि जिताउन योगदान गरे पनि उनको टोली च्याम्पियन्स लिगमा भने सफल भएन ।

यो बताइन्छ कि, नेइमारमाथि अहिले पिएसजीकै अर्का खेलाडी केलियन एमबाप्पेबाट बढी खतरा छ । रसिया विश्वकपसँगै पिएसजीका नयाँ स्टारका रूपमा उदाउँदै गरेका १९ वर्षीय खेलाडीले नेइमारलाई त्यहाँ पनि छायाँमा पार्न सक्ने प्रशस्तै संकेत देखिएका छन् ।

र, यो कुरा नेइमार स्वयंले पनि अनुभूत गरेका छन् । यस्तो बेला नेइमार र एमबाप्पे लामो समय पिएसजीमा रहन नसक्ने जानकारहरु बताउँछन् । पिएसजीबाट मुख्य खेलाडीका रूपमा उपाधि जित्ने र बालोन डि‘ओर जित्ने नेइमारको सपनामा एपबाप्पे बाधक भन्ने देखिन्छ ।

यो कुरा बुझेका मेस्सीले बार्सिलोनामा नेइमारको सुरक्षित अवतरण गराउन चाहेको खबरमा दाबी गरिएको छ । मेस्सीले अब केही समय आफू बार्सिलोनामा मुख्य खेलाडीका रूपमा रहेर नेइमार आए उनलाई आप्नो भूमिका दिन तयार देखिएको ‘बिबिसी’को रिपोर्टमा उल्लेख छ ।

बार्सिलोनामा ४ वर्ष सँगै खेलेका मेस्सी र नेइमार आपसमा मिलनार साथी पनि हुन् । व्यक्तिगत सम्बन्धमा हिसाबले पनि मेस्सीले नेइमारलाई बार्सिलोना फर्काउने गरी क्लबका अधिकारीसँग छलफल थालेको खबरमा भनिएको छ ।