मेस्सीले गरे रोनाल्डोको प्रशंसा

स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी र हाल इटालियन युभेन्टसमा अनुबन्ध भएका पोर्चुगिज टोलीको कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलमा कडा प्रतिस्पर्धी मानिन्छ । यी दुई खेलाडीबीच विश्व फुटबलमा पछिल्लो दशक चर्को प्रतिस्पर्धा पनि चल्यो ।

तर, रोनाल्डो हालसालै रियल छाडेर युभेन्टसमा अनुबन्ध भएपछि मेस्सीसँग उनको व्यक्तिगत प्रतिस्पर्धा सकिएको विश्लेषण गर्न थालिएको छ ।
यी दुई ठूला खेलाडीले एकअर्का बारेमा ज्यादै कम मात्रै बोल्ने गरेका छन् । यसैक्रममा बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले रोनाल्डो, उनको पूर्वक्लब र हालको क्लबबारे धारणा राखेका छन् ।

दुई दिनअघि ‘रेडियो क्याटलान’सँगको विशेष अन्तर्वार्तामा बोल्दै मेस्सीले रोनाल्डो संसारका थुप्रै उत्कृष्ट खेलाडीमध्ये एक भएको बताए । त्यत्ति मात्रै हैन, उनले रोनाल्डोले रियल छाड्लान् भनेर आफूले कहिल्यै नसोचेको पनि बताए ।
‘रोनाल्डोको यो निर्णयले म आश्चर्यमा परेको छु,’ मेस्सीले भनेका छन्, ‘मैले न उनले रियल मड्रिड छाड्छन् भन्ने सोचेको थिएँ, न युभेन्टस जान्छन् भन्ने ।’

मेस्सीले रोनाल्डोले छाडेपछि रियल पहिलाकै जस्तो बलियो नरहने बताए । ‘रियल मड्रिड उत्कृष्ट टिम हो, उनीहरूसँग राम्रो टिम छ,’ मेस्सीले भनेका छन्, ‘तर, रोनाल्डोले छाड्दा टिम पहिलाजस्तै बलियो रहँदैन ।’

त्यस्तै, मेस्सीले रोनाल्डो गएको नयाँ क्लब युभेन्टस अब च्याम्यिन्स लिगको झन् बलियो दाबेदार रहने बताए । ‘रोनाल्डोको उपस्थितिले युभेन्टसलाई च्याम्पियन्स लिगको झन् बलियो दाबेदार बनाउँछ । उनीहरूसँग पहिल्यै राम्रो टिम थियो, अब रोनाल्डो थपिएका छन्,’ मेस्सीले भने ।

अर्को प्रसंगमा मेस्सीले बार्सिलोना यो जिन नयाँ ढंगले अघि बढ्ने र च्याम्पियन्स लिग जित्न प्रयास गर्न बताए । उनले बार्सिलोना लगातार तीन सिजन अन्तिम आठबाटै बाहिरिँदा खल्लो लागेको बताउँदै यसपटक त्यसो हुन नदिन खेलाडी, प्रशिक्षक र क्लब सबै लागेको बताए ।