‘मेस्सीले अर्जेन्टिनाबाट सन्यास लिनु पर्छ’ – म्याराडोना

अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका लिजेन्ड फुटबलर म्याराडोनाले आफ्नो देशको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई अब कहिल्यै राष्ट्रिय टोलीमा नफर्किन सुझाव दिएका छन् । हालसालै मेक्सिकन क्लबको प्रशिक्षकमा अनुबन्ध भएका म्याराडोनाले एक अन्तर्वार्ताक्रममा मेस्सीलाई अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्न सुझाव दिएका हुन् ।

मेस्सीले कप्तानी गरेको अर्जेन्टिना रसिया विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । त्यसता मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छैनन् । र, उनले आफ्नो भविष्यबारे पनि केही बताएका छैनन् ।

यसैबेला म्याराडोनाले मेस्सीको पक्ष लिँदै उनलाई यस्तो सुझाव दिएका हुन् । म्याराडोनाले अर्जेन्टिनाले उपाधि जित्न नसक्नु मेस्सी मात्रै कारण नरहेको बताउँदै जहिल्यै राष्ट्रिय टोलीको असफलताको दोष मेस्सीलाई दिँदा उनीमाथि अत्याय हुँदै आएको बताए ।

‘म मेस्सीलाई फेरि कहिल्यै अर्जेन्टिनाका लागि नखेल्न सुझाव दिन्छु । अब उनी अर्जेन्टिनी टोलीमा नआउन्,’ म्याराडोनाले भनेका छन् ।

आक्रोशित हुँदै म्याराडोनाले थपे– ‘यहाँ अर्जेन्टिनाको यु–१५ टोली हार्दा पनि मेस्सीलाई नै दोष दिइन्छ । म उनलाई भन्छु– अब देशका लागि फेरि कहिल्यै नखेल, खेल्दै नखेल । त्यसपछि अर्जेन्टिना फुटबल संघ को तागत कति रैछ, हेरौं ।’

म्याराडोनाले अर्जेन्टिनाले विश्वकप जित्न नसक्नुमा मेस्सी मात्रै दोषी नरहेको बताए । ‘मेस्सी अहिले निराश छन् । यस्तो बेला सबैले उनलाई सन्देश पठाएर यो भनौं कि, अर्जेन्टिनाले उपाधि जित्न नसक्नुमा उनी मात्रै दोषी छैनन् ।’