मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु पर्ने म्यारोडोनाको सुझाव

अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु पर्ने बताएका छन् । यसै वर्ष रसियामा सम्पन्न विश्व कपपछि बार्सिलोनाका स्टार मेस्सीले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।

अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । मेस्सीले विश्व कपमा १ गोल मात्र गर्न सकेका थिए । त्यहि कमजोर प्रदर्शनका कारण प्रशिक्षक जोर्जे साम्पोलीले पद त्याग्नु परेको थियो । अर्को तिर मेस्सीले पनि तत्कालका लागि राष्ट्रिय टोलीमा नरहने निर्णय लिएका थिए ।

विश्वकपपछि मेसीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण खेल खेलेनन् । सन् २०१६ मा सन्यास घोषणा गरेका ३१ वर्षे मेस्सीलाई फेरि सन्यास लिन सुझाव दिएका छन् । त्यति बेला समर्थकहरुको चर्को दबाबपछि मेस्सीले सन्यास फिता लिएका थिए ।

‘म मेसीलाई के भन्न चाहन्छु भने फेरि फर्केर राष्ट्रिय टोलीमा नजाउ । सन्यास घोषणा गर,’ मेक्सिकन क्लब डोराडोसका प्रशिक्षक म्यरोडोनाले भने,’यू-१५ मा पराजित हुँदा पनि त्यो मेस्सीकै गल्तिका कारण हुन्छ । जो जहाँ पराजित भएपनि त्यसको दोष सबै उनीमाथि जान्छ । त्यसैले म भन्छु । अब फर्केर नजाउ । ‘

म्याराडोनाले यसै सिजन मात्र मेक्सिकन टोलीको जिम्मेवारी सम्हालेका हुन् । उनले यसअघि सन् २०१० को विश्वकपमा पनि टोलीको प्रशिक्षकत्व सम्हालेका थिए । त्यसबेला अर्जेन्टिनालाई जर्मनीले हराउँदै विश्वकपबाट बिदा गरेको थियो ।